Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग

स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग

पाँचथर : हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’कार्यक्रममा १२ प्रतिशतमा नसर्ने रोग देखा परेको छ । समुदायका ३० वर्षभन्दा माथिका ४४३ जनाको स्वास्थ्य परीक्षण गर्दा १२ प्रतिशतमा मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्यालगायत नसर्ने रोगका लक्षण देखिएका हुन् ।

नियमित स्वास्थ्य परीक्षण गर्न नसक्ने, गाउँमा आफ्नै काममा व्यस्त रहेका, आर्थिक अवस्था कमजोर भएका नागरिकको स्वास्थ्य जनाको स्वास्थ्य परीक्षण गर्दा यस्तो अवस्था देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रप्रसाद शर्मा घिमिरेले जानकारी दिए । मधुमेह र उच्च रक्तचापको समस्याले सताए पनि स्वास्थ्य परीक्षण नगराई बसेका भेटिएपछि त्यस्ता व्यक्तिलाई लक्षित गरी परामर्श तथा उपचारको प्रबन्ध गरिएको घिमिरेले बताए।

“सामान्यतया स्वस्थ देखिने मानिसमा नसर्ने रोगका लक्षण फेला परेका छन्”, घिमिरेले भने, “हामीले गत वर्षदेखि नसर्ने रोग पहिचानको अभियान सञ्चालन गरिरहेका छौँ । यसमा उल्लेख्य मात्रामा बिरामी भेटिएका छन् ।” उनका अनुसार यहाँका स्वास्थ्य संस्थाले विवाह, भोजभतेरलगायत सामाजिक/धार्मिक कार्यक्रममा सहभागीको स्वास्थ्य परीक्षण गर्दै आएका छन् ।

स्थानीयहरू स्वास्थ्यमा जटिल समस्या देखिएपछि मात्रै उपचारका लागि जाने गर्नाले पनि नसर्ने रोग भयावह बन्दै गएको घिमिरेको बुझाइ छ । “नियमित स्वास्थ्य परीक्षण नगर्ने चलनका कारण नसर्ने रोगले थप समस्या सिर्जना गरिसकेको हुन्छ । सोही कारणले नियमित स्वास्थ्य परीक्षणमा स्थानीयलाई अग्रसर गराउने उद्देश्यले खोज पड्तालकार्यक्रम सञ्चालन गरिएको हो”, उनले भने।

गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका बिरामीका लागि निःशुल्क रूपमा औषधि वितरण गर्दै आएको घिमिरेले जानकारी दिए। त्यस्तै स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन नगाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममार्फत छुट्टै ‘क्लिनिक’ सञ्चालनको व्यवस्था गरी स्थानीय स्वास्थ्य सङ्स्थाको पहुँचमा नरहेका नागरिकलाई प्राथमिक उपचार, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजनका साधनको प्रयोगलगायत विषयमा जानकारी गराउँदै आइएको छ।

यो कार्यक्रम यहाँका सबै वडामा प्रत्येक महिनामा दुई दिन सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख घिमिरेले जानकारी दिए। नसर्ने रोगको खोज पड्तालका क्रममा यहाँका चार जनामा कालाजार र छ जनामा क्षयरोग फेला परेको छ । सामान्यतया कालाजारको सङ्क्रमण पहाडी क्षेत्रमा कम हुने भए पनि चार जना बिरामी फेला परेपछि स्वास्थ्य संस्थामार्फत सचेतना कार्यक्रमलाई विस्तार गरिएको स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताउनुभयो ।

क्षयरोगका बिरामीलाई नियमित औषधि सेवनमार्फत निको पार्न र अन्य बिरामीको पहिचानका लागि खोज पड्तालकार्यक्रमलाई निरन्तरता दिइएको घिमिरेले जानकारी दिए। उक्त कार्यक्रमले बजेट विनियोजन तथा औषधि खरिद गर्न सहज भएको उल्लेख गर्दै उनले सम्बन्धित बिरामी रोगबाट जटिल अवस्थामा पुग्नबाट पनि बचेका धारणा राखे। 

गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले खोज र खोप अभियानअन्तर्गत नसर्ने रोगका बिरामी फेला गरेका बताउँदै पालिकाले नियमित रूपमा स्वास्थ्य परीक्षण, खोज पड्ताल, सचेतना, उपचार र औषधि वितरणका लागि स्वास्थ्यकर्मीलाई प्रोत्साहित गरिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट