वासिङ्टन डिसी : इरानमाथि अमेरिका र इजरायलले गरेको सैन्य आक्रमणका सम्बन्धमा गरिएको पछिल्लो जनमत सर्वेक्षणले अमेरिकी जनतामा यस युद्धप्रति खासै उत्साह नरहेको देखाएको छ। रोयटर्स र इप्सोसले शनिबार र आइतबार गरेको सर्वेक्षण अनुसार केवल चारमध्ये एक जना अमेरिकीले मात्र यस सैन्य कदमको समर्थन गरेका छन्।
रोचक कुरा के छ भने, यो सर्वेक्षण अमेरिकी सैनिकहरू मारिएको आधिकारिक खबर सार्वजनिक हुनुभन्दा अघि नै गरिएको थियो। सर्वेक्षणका अनुसार ४३ प्रतिशत अमेरिकीले युद्धको विरोध गरेका छन् भने २९ प्रतिशतले यसबारे कुनै निश्चित धारणा बनाउन सकेका छैनन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सभ्यताकै शत्रु भन्दै सैन्य कारबाहीलाई निरन्तरता दिने उद्घोष गरे पनि जनमत भने उनीसँग सहमत देखिएको छैन। विशेषगरी रिपब्लिकन पार्टीभित्रै पनि यो मुद्दामा स्पष्ट मत छैन।५५ प्रतिशत रिपब्लिकनले आक्रमणको समर्थन गरे पनि ४२ प्रतिशतले यदि यस युद्धमा अमेरिकी सैनिक मारिएमा वा घाइते भएमा आफ्नो समर्थन फिर्ता लिने बताएका छन्। उता डेमोक्र्याट समर्थकहरूमा भने ७४ प्रतिशतले यस युद्धको सिधै विरोध गरेका छन्।
यो नतिजाले ट्रम्प प्रशासनलाई आगामी मध्यावधि चुनावमा ठूलो धक्का पुग्न सक्ने विश्लेषण गरिएको छ। ट्रम्पले आफ्नो चुनावी अभियानमा अन्तहीन युद्धहरू समाप्त गर्ने र अमेरिका फस्ट को नीति लिने वाचा गरेका थिए। तर अहिले आफ्नै बाचा विपरित इरानसँगको युद्धमा होमिँदा उनको मागा आधार क्षेत्रका मतदाताहरू चिढिने जोखिम बढेको छ। राजनीतिक विश्लेषकहरूले चेतावनी दिएका छन् कि यदि यो युद्ध छिट्टै र कम क्षतिमा सकिएन भने ट्रम्पले आफ्नै समर्थकहरूको कडा आक्रोश सामना गर्नुपर्नेछ।
क्याटो इन्स्टिच्युटका विज्ञ डग ब्यान्डोले अल जजिरासँग कुरा गर्दै अमेरिकी सैनिकहरूको मृत्युले युद्धको वास्तविक मूल्य कति महँगो हुन्छ भन्ने कुरालाई उजागर गरेको बताएका छन्। उनले भनेका छन्, ‘अमेरिकीहरू मध्यपूर्वको द्वन्द्वमा फस्न चाहँदैनन्। सैनिकहरूको मृत्युले यो कुनै भिडियो गेम नभएर गम्भीर र दुखद वास्तविकता हो भन्ने प्रष्ट पारेको छ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij