Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बुढ्यौलीमा दिमाग तेज राख्ने ‘सुपरएजर’ रहस्य लाग्यो पत्ता

बुढ्यौलीमा दिमाग तेज राख्ने ‘सुपरएजर’ रहस्य लाग्यो पत्ता

काठमाडौं : वैज्ञानिकहरूले बुढ्यौलीमा पनि दिमाग अत्यन्त तेज राख्न सक्ने व्यक्तिहरूबारे महत्वपूर्ण खोज गरेका छन्। यी व्यक्तिहरुलाई “सुपरएजर” भनिएको छ । नयाँ अध्ययनअनुसार ८० र ९० वर्ष उमेर समूहका सुपरएजरहरूको मस्तिष्कमा साधारण स्वस्थ वयस्कभन्दा दोब्बर र अल्जाइमर रोगीभन्दा करिब २.५ गुणा बढी नयाँ (युवा) न्युरोन उत्पादन हुने पाइएको छ।

अध्ययनकी सह–लेखिका तमार जेफेनका अनुसार यो खोजले बुढ्यौलीको मस्तिष्क पनि पुनर्जनन हुन सक्ने क्षमता राख्छ भन्ने प्रमाण दिएको छ। उनका अनुसार युवा न्युरोनहरू अत्यन्त लचिलो हुने भएकाले ती सजिलै बढ्न, जोडिन र मस्तिष्कको सञ्जालमा समाहित हुन सक्षम हुन्छन्।

सुपरएजरहरूमा विशेषगरी स्मरणशक्ति नियन्त्रण गर्ने मस्तिष्कको भाग ‘हिप्पोक्याम्पस’मा बलियो सहयोगी प्रणाली देखिएको छ। यसले नयाँ न्युरोनलाई पोषिलो माटोमा रोपिएको बिरुवाजस्तै पोषण दिने वातावरण तयार गर्छ। अनुसन्धानले सुपरएजरहरूको हिप्पोक्याम्पसमा न्युरोजेनेसिस (नयाँ न्युरोन जन्मने प्रक्रिया)लाई समर्थन गर्ने अद्वितीय कोशिकीय वातावरण रहेको देखाएको छ।

अध्ययनकी वरिष्ठ लेखक ओर्ली लाजारोभले सुपरएजरहरूको न्युरोजेनेसिस प्रोफाइलले समयको असर झेल्ने असाधारण क्षमता देखाएको बताइन्। रोचक कुरा के भने, सुपरएजरहरूको मस्तिष्कमा ३०–४० वर्षका युवाभन्दा पनि बढी नयाँ न्युरोन भेटिएको छ।

यद्यपि, केही व्यक्तिमा आनुवंशिक फाइदा हुन सक्ने अनुसन्धानकर्ताहरूको भनाइ छ । यस मामिलामा व्यक्तिको जीवनशैली पनि उत्तिकै महत्वपूर्ण देखिएको छ। अध्ययनमा संलग्न नभएका अल्जाइमर रोकथाम विशेषज्ञ रिचार्ड आइज्याकसनका अनुसार स्वस्थ आहार, नियमित व्यायाम, तनाव नियन्त्रण, राम्रो निद्रा र रक्तनलीसम्बन्धी जोखिम नियन्त्रणले मस्तिष्कका भागहरू, विशेषगरी हिप्पोक्याम्पस बढाउन मद्दत गर्न सक्छ। यस्ता बानीले अल्जाइमरका संकेतहरू जस्तै टाउ ट्याङ्गल र एमाइलोइड प्लाक पनि घटाउन सक्छन्।

“सुपरएजर” बन्नका लागि व्यक्तिको उमेर ८० वर्षभन्दा माथि हुनुपर्छ र विस्तृत संज्ञानात्मक परीक्षणमा उत्कृष्ट एपिसोडिक मेमोरी—दैनिक घटना र व्यक्तिगत अनुभव सम्झने क्षमता—देखाउनुपर्छ। अनुसन्धानकर्ता एमिली रोगाल्स्कीका अनुसार सुपरएजर र सामान्य वृद्धबीचको फरक केवल बौद्धिकताका कारण होइन, बरु मस्तिष्कको संरचना र कार्यक्षमतासँग सम्बन्धित छ।

यो अध्ययनले उमेर बढ्दै जाँदा पनि मस्तिष्क सक्रिय र लचिलो राख्न सकिने आशा जगाएको छ। वैज्ञानिकहरूका अनुसार सही जीवनशैली अपनाउने हो भने धेरै मानिसले संज्ञानात्मक क्षय ढिलो पार्न वा रोक्न सक्ने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट