Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

३३ जना बालकमाथि यौन शोषण गरेर 'डार्क वेब' भिडियो बनाई बेच्ने दम्पत्तिलाई मृत्युदण्डको सजाय

३३ जना बालकमाथि यौन शोषण गरेर 'डार्क वेब' भिडियो बनाई बेच्ने दम्पत्तिलाई मृत्युदण्डको सजाय

काठमाडौँ : भारतको उत्तर प्रदेशमा ३३ जना बालकमाथि यौन शोषण गरेर डार्क वेब भिडियो बनाएर बेच्ने एक दम्पत्तिलाई मृत्युदण्डको सजाय सुनाएको छ । बान्दा अदालतका अतिरिक्त जिल्ला न्यायाधीश पीके मिश्रले यस घटनालाई ‘विरलै हुने जघन्य अपराध’ (Rarest of rare) को श्रेणीमा राख्दै प्रतिवादी बनाइएका ५० वर्षीय राम भवन र ४७ वर्षीया दुर्गावतीलाई मृत्युदण्डको फैसला सुनाएका हुन् ।

टाइम्स अफ इन्डियाका अनुसार बान्दा जिल्ला अदालतले विगत एक दशकमा तीन देखि १० वर्ष उमेर समूहका बालकलाई क्रूर यातना दिने र तिनका अश्लील तस्बिर तथा भिडिओ ‘डार्क वेब’ मार्फत ४७ देशमा बिक्री गरेको कसुरमा यो फैसला सुनाएको हो ।

फैसलामा भनिएको छ, “दोषीहरूले धेरै जिल्लामा फैलिएर यति ठुलो र यति क्रूर अपराध गरेका छन् कि उनीहरू भविष्यमा सुध्रिएर राम्रो मान्छे बन्छन् भनेर सोच्न सकिँदैन । त्यसैले पीडितलाई साँचो न्याय दिन र समाजमा अरूलाई यस्तो अपराध गर्नबाट रोक्नका लागि उनीहरूलाई हदैसम्मको कडा सजाय दिनैपर्ने हुन्छ ।”

अदालतले रामभवन र उनकी श्रीमती दुर्गावतीलाई भारतीय दण्ड संहिता र पोक्सो ऐन अन्तर्गत विभिन्न अपराधहरूमा मृत्युदण्डको सजाय सुनाएको छ, जसमा अप्राकृतिक अपराध, बढ्दो प्रवेश यौन आक्रमण, अश्लील उद्देश्यका लागि बालबालिकाको प्रयोग, बालबालिकासँग सम्बन्धित अश्लील सामग्रीको भण्डारण, दुरुत्साहन र आपराधिक षड्यन्त्र समावेश छ। अदालतले सरकारलाई प्रत्येक पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि आदेश दिएको छ ।

डार्क वेबमा बाल यौन दुर्व्यवहारका सामग्री प्रसार भइरहेको भन्दै इन्टरपोलले भारतीय केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)लाई सचेत गराएपछि यो अपराधको पर्दाफास भएको थियो । सीबीआईले ३१ अक्टोबर २०२० मा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा दिल्लीको एम्स (AIIMS) अस्पतालको मेडिकल टिमले २५ जना पीडित बालबालिकाको स्वास्थ्य परीक्षण गरेको थियो । जसबाट प्राप्त बलियो प्रमाणका आधारमा अदालतले दम्पतीलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले २०२० मा अभियुक्त रामभवन र अन्य अज्ञात व्यक्तिहरू विरुद्ध बालबालिकाको यौन दुर्व्यवहार, अश्लील उद्देश्यका लागि बालबालिकाको प्रयोग, र इन्टरनेटमा बाल यौन दुर्व्यवहार सामग्रीको सिर्जना र प्रसारको आरोपमा मुद्दा दर्ता गरेको थियो ।

पीडित बालबालिकामाथि निर्मम अत्याचार गरिएको थियो । कसैको गुप्ताङ्गमा गम्भीर चोट लागेर अस्पताल भर्ना गर्नुपरेको थियो भने केहीको आँखामा स्थायी समस्या देखिएको थियो । अनुसन्धान प्रतिवेदनका अनुसार उत्तर प्रदेश सिँचाइ विभागका पूर्व जुनियर इन्जिनियर राम भवन र उनकी श्रीमती दुर्गावतीले सन् २०१० देखि २०२० को बीचमा बान्दा र चित्रकूट क्षेत्रमा यो अपराध सञ्जाल चलाएका थिए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट