Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

दिग्गज लेखक सलीम खानको स्वास्थ्यमा सुधार, सोमबारसम्म डिस्चार्ज हुन सक्ने

दिग्गज लेखक सलीम खानको स्वास्थ्यमा सुधार, सोमबारसम्म डिस्चार्ज हुन सक्ने

मुम्बई : हिन्दी सिनेमाका प्रख्यात पटकथा लेखक तथा अभिनेता सलमान खानका पिता सलीम खानको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको छ। मङ्गलबार बिहान मस्तिष्कमा समस्या देखिएपछि उनलाई मुम्बईको लीलावती अस्पताल भर्ना गरिएको थियो। 

९० वर्षीय खानलाई सुरुमा अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो, जहाँ चिकित्सकहरूको विशेष टोलीले उनको स्वास्थ्य परीक्षण गरेको थियो। अस्पतालका अनुसार उनलाई ब्रेन ह्यामरेज भएपछि भेन्टिलेटर सपोर्टमा राखिएको थियो, तर पछिल्लो रिपोर्टहरूले उनको अवस्था स्थिर रहेको र सुधार भइरहेको संकेत गरेका छन्। सलीम खानको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार अभिनेता एजाज खान अस्पताल पुगेका थिए। उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सलीम खान अहिले आईसियूमा रहेको र सबै कुरा सामान्य रहेमा आगामी सोमबारसम्म डिस्चार्ज हुन सक्ने बताएका छन्। 

बुधबार चिकित्सकहरूले उनको डिजिटल सब्स्ट्र्याक्सन एन्जियोग्राफी परीक्षण गरेका थिए। यो मस्तिष्कको शल्यक्रिया नभई नसाहरूको अवस्था र सम्भावित अवरोध पत्ता लगाउने एक अत्याधुनिक परीक्षण विधि हो। उक्त परीक्षणपछि उनको अवस्था स्थिर देखिएको र मेडिकल टिमले निरन्तर निगरानी गरिरहेको छ। सलीम खानको स्वास्थ्य अवस्थालाई लिएर उनका परिवारले भने गोपनीयता कायम राख्न चाहेका छन्। अस्पतालले बुधबार सार्वजनिक रूपमा मेडिकल अपडेट दिएकोमा सलमान खान र उनको परिवारले असन्तुष्टि व्यक्त गरेका छन्। 

परिवारका अनुसार स्वास्थ्यको विषय नितान्त निजी मामिला भएकाले यसबारे जानकारी दिने अधिकार परिवारमै सुरक्षित हुनुपर्छ। त्यसैले अहिले अस्पतालले आधिकारिक रूपमा कुनै नयाँ बुलेटिन जारी गरेको छैन। यद्यपि अस्पतालमा उनलाई भेट्न बलिउडका दिग्गज कलाकारहरूको घुइँचो लागेको छ। अस्पतालमा शुक्रबार रणवीर सिंह, फराह खान र युलिया वन्तुर लगायतका सेलिब्रेटीहरू पुगेका थिए। हालै लरेन्स ग्याङबाट धम्की पाएका अभिनेता रणवीर सिंह कडा सुरक्षा घेराबिच अस्पताल पुगेका थिए। सन् १९३५ मा जन्मिएका सलीम खानले सन् १९६० को दशकमा ‘बारात’ चलचित्रबाट अभिनय यात्रा सुरु गरेका थिए। करिब दुई दर्जन चलचित्रमा काम गरेपछि उनले अभिनयभन्दा लेखनमा आफ्नो दख्खल महसुस गरे र पटकथा लेखनमा लागेका थिए। उनले बलिउडलाई थुप्रै ऐतिहासिक र सफल चलचित्रहरू दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij