कास्की : कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा उद्यान (पार्क) निर्माण गरिएको छ । पर्यटकीय गाउँका रूपमा राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा परिचित धम्पुसमा यस उद्यानले थप पर्यटन आकर्षण बढाउने र पर्यटकको बसाइ लम्ब्याउने अपेक्षा गरिएको छ । उद्यानमा बसेर आरामसहित मनोरम दृश्यावलोकन गर्न सकिने छ ।
उद्यानमा धम्पुस ब्रेकन भगिनि सम्बन्ध स्थापनाको स्मारक राखिएको छ । ढुङ्गैढुङ्गाले बनेको यस स्मारकले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्नेछ । दुई रोपनी जमिनमा रहेको उद्यानबाट उत्तरतर्फ लहरै ठडिएका हिमशृङ्खला तथा हेमजा र पोखरा बजारको दृश्यावलोकन गर्न सकिन्छ ।
धम्पुस समाज युकेको लगानी र अग्रसरतामा उद्यान निर्माण गरिएको हो । उद्यान निर्माणका लागि समाजको रु २६ लाख र स्थानीय सरकार तथा व्यक्तिगत सहयोग गरी ४० लाख खर्च भएको धम्पुस समाज युकेका संरक्षक मेजर खुशीमान गुरुङले जानकारी दिए । उनले भने, ‘धम्पुस आफैँमा पर्यटकीय गाउँ हो । यहाँ आउने पर्यटकलाई थप आकर्षण बढाउने उद्देश्यले हामीले पार्क बनाएका हौँ ।’ धम्पुस र बेलायतको ब्रेकन सहरबीचको भगिनी सम्बन्ध स्थापनाको सातौँ वर्ष पुगेको छ । सोही अवसरमा हालै उद्यान औपचारिक उद्घाटन गरेर खुला गरिएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij