Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

वाइजएडमिटको पहलमा चितवनमा ऐतिहासिक “फाल इन लभ विथ योर फ्युचर” कार्यक्रम

वाइजएडमिटको पहलमा चितवनमा ऐतिहासिक “फाल इन लभ विथ योर फ्युचर” कार्यक्रम

चितवन : नेपाल चितवनमा हालसम्मकै सबैभन्दा प्रभावशाली अन्तर्राष्ट्रिय शिक्षा तथा प्रविधि केन्द्रित कार्यक्रममध्ये एक मानिएको वाइजएडमिट(WiseAdmit) द्वारा “फाल इन लभ विथ योर फ्युचर” कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ४०० भन्दा बढी विद्यार्थी र अभिभावकहरुको उत्साहजनक सहभागिता रहेको थियो । WiseAdmit(वाइजएडमिट)ले आयोजना गरेको यस कार्यक्रमको नेतृत्व संस्थापक तथा सीईओ डा.रुपेश रेग्मीले गर्नुभएको थियो।

 

कार्यक्रमको उद्घाटन भरतपुर महानगरपालिकाका मेयर चित्रसेन अधिकारीले गर्नुभयो। साथै पोखरा चाइनिज सोसाइटीका अध्यक्ष ट्याङ, विश्वव्यापी कम्पनी न्यू होप ग्रुपकाका प्रतिनिधि हान र उहाँको टोलीको विशेष उपस्थिति रहेको थियो। विश्वभर १ लाखभन्दा बढी कर्मचारी रहेको र चितवनमै सञ्चालनमा रहेको न्यू होप कम्पनीको सहभागिताले नेपाली विद्यार्थीका लागि अन्तर्राष्ट्रिय अवसरहरू नजिकै रहेको सन्देश दिएको थियो।

 

चितवनमा पहिलोपटक आयोजना गरिएको यस कार्यक्रमले चिनियाँ नयाँ वर्ष उत्सव, शिक्षा, प्रविधि र सांस्कृतिक अनुभवलाई एकै ठाउँमा प्रस्तुत गरेको थियो। सहभागीहरूले चिनियाँ क्यालिग्राफी, पेपर कटिङ, चपस्टिक प्रयोग, चिनियाँ स्न्याक्स तथा आधारभूत चिनियाँ भाषा सिक्ने अवसर पाए।

 

वाइजएडमिटका संस्थापक डा.रुपेश रेग्मीले चीनमा आफ्नो करिब दुई दशकको अनुभव साझा गर्दै “चीनबाट सिकेका ७ महत्वपूर्ण कुराहरू र किन नेपाली विद्यार्थीले एसियाको उदाउँदो प्रविधि र एआईको भविष्य बुझ्न जरुरी छ” भन्ने विषयमा प्रेरणादायी प्रस्तुति दिनुभयो। उहाँले अब नेपालले पश्चिम मात्र होइन, उत्तरतर्फ पनि हेर्नुपर्ने र एसिया नै भविष्यको प्रविधि, नवप्रवर्तन र अवसरको केन्द्र बन्दै गएको बताउनुभयो।

 

कार्यक्रममा पूर्ण दवाडीले चीनले गरेको विकास र रूपान्तरणबाट नेपालले सिक्नुपर्ने मुख्य पक्षहरूबारे विचार राख्दै, अनुशासन, दीर्घकालीन सोच र प्रविधिमा लगानीले कसरी देशलाई अगाडि बढाउँछ भन्ने विषयमा जोड दिनुभयो।

 

त्यसैगरी स्वीकार शर्माले आजको युवापुस्ताले जुनसुकै क्षेत्रमा भए पनि कन्टेन्ट क्रिएसन सुरु गर्नु किन आवश्यक छ भन्ने विषयमा प्रेरणादायी प्रस्तुति दिँदै डिजिटल युगमा व्यक्तिगत ब्रान्ड र सीप विकासको महत्वबारे स्पष्ट सन्देश दिनुभयो।

 

कार्यक्रमकै क्रममा धेरै विद्यार्थीहरूले तुरुन्तै भर्ना तथा छात्रवृत्ति मूल्याङ्कन प्राप्त गरे, जसले विश्वस्तरीय शिक्षा अझ सुलभ र किफायती बन्ने सम्भावना देखाएको छ।

 

वाइजएडमिटको उद्देश्य नेपाली युवालाई विश्वस्तरीय शिक्षा, प्रविधि र भविष्यका अवसरहरूसँग जोड्नु हो। विशेषगरी एआई, इन्जिनियरिङ र उदीयमान उद्योगहरूमा एसियामा उपलब्ध अवसरबारे सचेत गराउँदै, सही मार्गदर्शन र पहुँच उपलब्ध गराउनु यसको मुख्य लक्ष्य हो।

 

“फॉल इन लभ विथ योर फ्युचर” कार्यक्रमले चितवनका विद्यार्थी र अभिभावकमा नयाँ सोचको सुरुवात गराएको छ । भविष्य टाढा होइन, हाम्रै छिमेकमै पनि हुन सक्छ भन्ने स्पष्ट सन्देश दिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट