काठमाडौं : १७ कात्तिक २०२० मा जनवादी गणतन्त्र चीनका नेता माओ जेदुङले विश्वबन्धु थापा नेतृत्वको राष्ट्रिय पञ्चायतको संसदीय दलका नेता भेटे । चीनको भ्रमणमा रहेका राष्ट्रिय पञ्चायतका अध्यक्ष थापालाई माओले खुलेर बोलेका थिए, ‘हामीलाई हेपिएको छ । हामीसँग आणविक हतियार छैन । हाम्रो उद्योग अल्पविकसित छ । तर, यो परिवर्तन हुनेछ । केही दशकमा यो परिवर्तन हुनेछ । त्यतिञ्जेलसम्म म भगवानको घरमा पुगेको हुनेछु । मसँग पाँच वर्षको मात्रै योजना छ । त्यो बढीको योजना अर्थपूर्ण हुने छैन । मैले केही गर्न सक्दिनँ । तपाईं त युवा नै हुनुहुन्छ । धेरै देख्न पाउनुहुनेछ ।’
दि अरनिको प्रोजेक्टले सन् २०२३ मा अनुवाद गरेर राखेको यो कुरा ठ्याक्कै मिल्यो । थापाले चीनको आणविक परीक्षणको युग माओसँगै देख्न पाएता पनि चीन विश्वको औद्योगिक महाशक्ति बनेर युरोपभन्दा प्रभावशाली र अमेरिकासँगको प्रतिस्पर्धी भएको कुरा भने माओले देखेनन् । थापाले देखे । नेपालमा पनि विश्वबन्धु थापाले देखेको इतिहासको अनुभव गर्ने कमै छन् ।
तर, नेपाल संसदीय चुनावी महिनामा हिँड्दै गर्दा नेपालको संसदीय इतिहासको पहिलो चुनाव २०१५ बाट विजयी भएका एक्ला जीवित साक्षी थापाको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार शनिबार ह्याम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी एक महिनाअगाडि हृदयघातको समस्या देखिएर उपचाररत थिए ।
९८ वर्षको उमेरमा अस्ताएका थापा २०१५ सालको चुनावबाट तत्कालीन ‘क्षेत्र नम्बर ५६ चिसापानी चिनौन’बाट विजय भएका थिए । उनले ६ हजार ८२९ मत ल्याएर विजय भएका थिए । उनका निकटतम प्रतिस्पर्धी डा. केआई सिंह नेतृत्वको संयुक्त प्रजातन्त्र पार्टीका उम्मेदवार टेकबहादुर गुरुङले ३ हजार ९५५ मत ल्याएका थिए । विश्वबन्धु थापासँग असन्तुष्ट भएर महिला उम्मेदवार मैयादेवी श्रेष्ठले बागी उम्मेदवार दिएकी थिएन् । पछि उनले उम्मेदवारी फिर्ता लिइन् र शून्य मत आयो ।
थापा नेपालको राणाकालदेखि गणतन्त्र कालसम्मका साक्षी भएको उनीसँग संगत र संवाद गरेका लेखक डा. जगत नेपाल बताउँछन् । ‘२००० सालयताका सबै कुरा मुखाग्र थियो उहाँलाई’, ‘पहिलो संसद’ पुस्तकमा लेखक नेपाल भन्छन्, ‘स्मरण शक्ति धेरै राम्रो थियो ।’
राणा शासनकालमा नेपाली कांग्रेसको शसस्त्र क्रान्तिमा जोडिएको, पहिलो संसदीय निर्वाचनमा जोडिएको र संसदीय व्यवस्था अन्त्य भएर बनेको पञ्चायती व्यवस्थामा पनि जोडिएको लिगेसी थापाको भएको बताउँछन् नेपाल । भन्छन्, ‘उहाँ नेपाली कांग्रेसको दुईतिहाइ बहुमतको संसदमा प्रमुख सचेतक हुनुहुन्थ्यो । प्रश्न राम्रो–राम्रो सोध्नुहुन्थ्यो ।’
थापा र बीपी कोइराला पहिलो संसदको चुनावपछिसम्म पनि बीपी कोइरालाको एक घरमा नागपोखरीमा बसेको प्रसङ्ग जोड्दै नेपाल भन्छन्, ‘पछि पञ्चायतमा लागेर पनि उहाँ पञ्चायतको प्रजातान्त्रिक धारको पक्षधर हुनुहुन्थ्यो ।’
नेपालका अनुसार ‘निर्दलीय पञ्चायतको आमा’ भनेर डा. तुल्सी गिरीलाई भनिए पनि त्यसको सैद्धान्तिक आधार भने थापाले तयार गरेको बताउँछन् । पञ्चायतको नामकै जन्मदाता हुन् थापा । पछि उनी ‘गाउँ फर्क राष्ट्रिय अभियान’मा जोडिए । त्यो पनि कांग्रसको २०१५ सालको चुनावी नारा ‘गाउँतिर जाउ, गाउँलाई हेर’बाट प्रभावित देखिन्थ्यो ।
थापा नेपालका प्रथम प्रधानमन्त्री मानिने भीमशेन थापाको खलकका पाँचौँ पुस्ता थिए । राष्ट्रिय पञ्चायतका अध्यक्ष भएका थापा कहिल्यै प्रधानमन्त्री भने बनेनन् । थापालाई प्रधानमन्त्री नबनाउनु गल्ती भएको पञ्चायतकै पक्षधरहरू भन्ने गर्छन् ।
पञ्चायतको युग सकिएपछि धेरै जनता कांग्रेस र कम्युनिस्टमा लागेता पनि विश्वबन्धु तिरवितर भएनन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी निर्माणमा योगदान गरेका दिए । राजा महेन्द्रसँग निकट भएका र राजासँग मिलेर काम गरेको इतिहास भएका थापाले २०७५ अब राजतन्त्र नफर्किने बताएका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij