काठमाडौँ : सशस्त्र प्रहरी बलले सञ्चालन गरेको एपीएफ अस्पतालले आफ्नो २४ औँ वार्षिकोत्सव मनाएको छ । शनिवार बलम्बु स्थित एपीएफ अस्पतालमा आयोजित बार्षिकोत्सव समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अस्पतालले आफ्ना कर्मचारी र सर्वसधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए । उनले भने, ‘गुणस्तरीय सेवा प्रदान गर्दै एपीएफ अस्पतालले राष्ट्रिय स्वास्थ्य सेवामा महत्त्वपूर्ण योगदान गरेको छ ।’
अस्पतालका प्रमुख (डीआईजी) डा. रुपक महर्जनले मेडिकल शाखाको रूपमा स्थापना भएको अस्पताल अहिले ३ सय शय्याको संघीय स्तरको विशिष्टीकृत अस्पतालको रूपमा विकसित भएको बताए । उनले भने, ‘अस्पतालले सशस्त्र प्रहरी कर्मचारी, आश्रित परिवार, सहिद परिवार, अवकाश प्राप्त कर्मचारी तथा सर्वसाधारण नागरिकलाई सेवा प्रदान गर्दै आएको छ ।’
गत वर्ष एपीएफ अस्पतालबाट १ लाख ८२ हजारभन्दा बढी सेवाग्राहीले ओ.पि.डि. सेवा र हजारौंले इमरजेन्सी र शल्यक्रिया सेवा लिएको महर्जनले बताए । अस्पतालले आजबाट ८ शय्याको अत्याधुनिक ‘मोड्युलर अपरेसन थिएटर’ सञ्चालनमा ल्याएको छ । यसैवर्षबाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा आवासीय चिकित्सकहरूलाई प्रशिक्षण सुरु गरिएको डा. महर्जनले जानकारी दिए । स्थापना दिवसको अवसरमा अस्पतालका कर्मचारीहरुलाई दुईदिन बिदा दिने निर्णय गरिएका आईजी अर्यालले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij