Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट लगिएको मेसिन

भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट लगिएको मेसिन

चितवन : स्वास्थ्य सेवा विभागलाई किनाएर लगिएको लाखौं रुपैयाँ पर्ने उपकरण अस्पतालले थन्काएर राखेको पाइएको छ । चितवनस्थित संघीय अस्पताल भरतपुर अस्पतालले लाखौं रुपैयाँ खर्च गरेर स्वास्थ्य सेवा विभागले तीन वर्षअघि खरिद गरेर पठाएको उपकरण नचलाएर त्यतिकै थन्काइदिएको हो ।

अस्पतालले प्रयोगशालामा हेमाटोलोजी परीक्षणमा प्रयोग हुने उक्त मेसिन दुई वर्षदेखि त्यतिकै थन्काइएको हो । भरतपुर अस्पतालले तीन वर्षअघि स्वास्थ्य सेवा विभागबाट हेमाटो सम्बन्धी परीक्षण गर्ने मेसिन लगेर सुरुको एक वर्ष मात्रै प्रयोगमा ल्याएको थियो । तर, पछिल्ला दुई वर्षदेखि उक्त मेसिन थन्काएर राखिएको छ । ‘मेसिन चलाउने कि नचलाउने भन्नेमा पनि खेल हुँदोरहछ,’ विभाग स्रोतले भन्यो, ‘विभागमा माग गरेर तीन वर्षअघि मेसिन लिनुभएको हो । पहिलो वर्ष राम्रै चलेको थियो ।

त्यसपछि किन थन्काउनुभो थाहा भएन । मेसिन किन्ने र थन्काउने काम रोक्न अब स्वास्थ्य मन्त्रालयको नेतृत्वले कडाइका साथ प्रस्तुत हुनुपर्छ ।’ अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले विभागबाट पठाएको मेसिन प्रयोगबिहीन अवस्थामा रहेको बताए । ‘विभागले पठाएको मेसिन प्रयोगबिहीन रहेको छ,’ उनले भने, ‘त्यसको रिएजेन्ट महंगो भएर नचलाएको हो ।’ हेल्थआवाजले डा. पौडेलसँग यसअघि एक वर्ष चलेको रहेछ त्यतिबेला रिएजेन्ट महंगो थिएन भन्ने प्रश्न गर्दा उनले फरक हिसाबले अस्पतालसँग अरु पनि मेसिन रहेकाले अरु मेसिनहरु चलिरहेको जानकारी दिए ।

जनताले तिरेको करबाट किनिएको मेसिन थन्काएर भरतपुर अस्पतालले अहिले ‘कष्ट फर टेष्ट’ अवधारणामा एउटा मेसिन र एकमुष्ट बल्कमा रिएजेन्ट किनेर अर्को मेसिन चलाइरहेको अस्पताल स्रोतको दावी छ । ‘सुरुका एक वर्षमा विभागले पठाएको मेसिन राम्रै चलेको थियो,’ अस्पताल स्रोतले भन्यो, ‘यहाँ अस्पतालमा अनेकन खेल हुन्छन्, अहिले किन चलाएका छैनन् थाहा भएन ।’ अझ रोचक त के भने अस्पतालको आग्रहमा नै विभागले यस्ता उपकरण खरिद गर्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट