काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सलाई पुनः उडान अनुमति दिएको छ । नेपाल सरकारद्वारा गठित हवाई दुर्घटना तथा जाँचबुझ आयोग र प्राधिकरणद्वारा सौर्य एयरलाइन्स र अन्य एयरलाइन्स समेतलाई निर्देशित सम्पूर्ण सुझावको पालना गरेसँगै पुनः उडान अनुमति दिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उडान अनुमतिका लागि टेक्निकल सफ्टवेयर पनि खरिद र जडानपछि सेफ्टी स्ट्यान्डर्ड ६५ प्रतिशतभन्दा बढी अङ्क प्राप्त गरेपछि प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णले उडान अनुमतिपत्र नवीकरण गरेको हो।
९ साउन २०८१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको जहाज दुर्घटनामा परेसँगै सौर्यका सबै उडान रोकिएका थिए । सौर्य एयरलाइन्सको उडान अनुमति प्रमाणपत्र प्राधिकरणले ३० साउन २०८२ मा प्रतिबन्ध फुकुवा गरेको थियो । तर, सेफ्टी अडिटमा ६० प्रतिशतभन्दा कम प्राप्ताङ्क आएका कारण उडानमा भने प्रतिबन्ध कायमै थियो ।
नेपाल उड्डयन प्राधिकरणबाट उडान अनुमति (एओसी) पाएसँगै सम्पूर्ण सुरक्षा मापदण्ड पूरा गरी पुनः नियमित उडान सुरु गर्ने भएको हो । कम्पनीले तत्काल एउटा विमानबाट सेवा दिने तयारी गरेको कम्पनीका प्रवक्ता मुकेश खनालले जानकारी दिए ।
उनका अनुसार कम्पनीले सुरुमा विराटनगर र भद्रपुरमा नियमित उडान सुरु गर्न लागेको छ । काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सौर्य एयरलाइन्स दुर्घटनापछि उडान प्रतिबन्धमा थियो । तर नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति एओसी र सुरक्षा अडिट पास गरेर पूर्ण सुरक्षित तवरले सेवामा फर्किएको दाबी गरेको छ।
एयरलाइन्सका अनुसार विगतमा सुरक्षा अडिटमा ६० प्रतिशत अङ्क ल्याउन नसक्दा उडान अनुमति पत्र नवीकरण भएको थिएन। तर, हाल प्राधिकरणले दिएका २३ बुँदे सुरक्षा सुझावहरू पूर्ण रूपमा पालना गरेको र आवश्यक सफ्टवेयर खरिद गरी पुनः अडिट गर्दा ६५ प्रतिशतभन्दा माथि अङ्क प्राप्त गरेकाले उडान अनुमति पाएको प्रवक्ता मुकेश खनालले जानकारी दिए।
उनले भने, ‘हामीले सेफ्टी अडिटमा पास भएर उडान योग्य प्रमाणपत्र पाएका छौँ।’ अहिले कम्पनीसँग ९ एन–एलइ र ९ एन–एएनएम कलसाइनको दुइटा विमान छ। त्यसमध्ये ९–एनएलइ कलसाइनको विमान एक वर्ष अघिदेखि प्राविधिक समस्याका कारण ग्राउन्डेड छ। कम्पनीले ९ एन–एएनएम विमानबाट विराटनगर र भद्रपुर उडान गर्ने योजना बनाएको छ ।
कम्पनीका नायब प्रबन्ध निर्देशक उमेश आचार्यले निकट भविष्यमै एटीआर ७२–६०० जहाज ल्याएर सेवा विस्तार गर्ने योजना बनाएको समेत जानकारी दिए।सौर्य एयरलाइन्स वैदेशिक लगानी भएको संस्था हो। विगत १८ महिनादेखि उडान अवरुद्ध हुँदा कम्पनीले आफ्ना १०५ देखि १६५ जना कर्मचारीहरूको तलब, भत्ता र आवश्यक प्राविधिक ट्रेनिङ गरेको थियो। त्यस्तै, नेपाल सरकार र नियामक निकायलाई बुझाउनुपर्ने कुनै पनि प्रकारको शुल्क वा बक्यौता बाँकी नरहेको कम्पनीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij