काठमाडौँ : नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापा ‘बादल’ ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई सामान्य लोकतान्त्रिक प्रक्रिया मात्र नभई देशभक्त र देशद्रोही शक्तिहरूबिचको निर्णायक सङ्घर्षको संज्ञा दिएका छन्।
प्रवासी नेपाली संघ भारतको केन्द्रीय समितिको सातौँ बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले यो निर्वाचनले देशको अस्तित्व र स्वाधीनताको भविष्य फैसला गर्ने दाबी गरे।उपाध्यक्ष बादलले मुलुकलाई विदेशी शक्तिहरूको क्रिडास्थल बनाउने र ’युक्रेन’ को बाटोमा लैजाने षड्यन्त्र भइरहेको आरोप लगाए। उनले गत भदौ २३ र २४ गते भएका घटनाहरू त्यसकै सिलसिला भएको उल्लेख गर्दै निर्वाचनमार्फत नेपालमा ‘जेलेनेस्की’ जस्तो पात्र जन्माउने प्रयास भइरहेको प्रति सतर्क गराए। उनले ती विध्वंशकारी शक्तिहरूलाई परास्त गर्न एमालेको जित अनिवार्य रहेको जिकिर गरे।
एमालेलाई देश बनाउने एक मात्र देशभक्त शक्तिका रूपमा चित्रण गर्दै बादलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पुनः लोकतान्त्रिक सरकार स्थापना गर्नु नै पार्टीको मुख्य लक्ष्य रहेको स्पष्ट पारे।
उनले वर्तमान सरकारलाई असंवैधानिक र कठपुतलीको संज्ञा दिँदै यसले राष्ट्रिय स्वाभिमानमा आँच पुर्याएको टिप्पणी गरे। बाह्य हस्तक्षेपविरुद्धको प्रतिरोध सफल पार्न प्रवासमा रहेका नेपालीहरूको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो।
प्रतिक्रान्ति र प्रतिगमनको खतरा औंल्याउँदै बादलले आगामी निर्वाचनलाई जीवन–मरणको सङ्घर्षका रूपमा लिन कार्यकर्तालाई आह्वान गरे। एमालेले विगतमा सरकारमा रहँदा राष्ट्रियता र विकासका पक्षमा गरेका कामहरूले नै पार्टीको साख पुष्टि गरेको उनले उल्लेख गरे। एमाले नै नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएको दाबी गर्दै उनले समाजवादी यात्राको नेतृत्व एमालेले मात्र गर्ने दाबी गरे।
पार्टी अध्यक्ष ओलीको नेतृत्वमा निर्वाचन घोषणापत्र तयार भइरहेको जानकारी दिँदै उनले त्यसमा राष्ट्रियता, विकास, समृद्धि र अन्तर्राष्ट्रिय सम्बन्धका साथै प्रवासमा रहेका नेपालीका समस्या समाधान गर्ने विषयहरू प्राथमिकताका साथ समेटिने आश्वासन दिए। संघका अध्यक्ष नारायण हुमागाईंको अध्यक्षतामा भएको सो बैठकमा एमाले केन्द्रीय सदस्य हरिप्रसाद घिमिरेले भारत प्रवासमा रहेका नेपालीका समस्याबारे नेतृत्वको ध्यानाकर्षण गराएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij