रूपन्देही : आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२/०८३ को छ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ।आन्तरिक राजस्व विभागबाट साउनदेखि पुस महिनासम्ममा ६अर्ब ६३ करोड ७० लाख ५१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको यस कार्यालयले आठ अर्ब १७ करोड १९ लाख ९७ हजार संकलन गरेको छ।
कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार गत आव २०८१/०८२ को सोही अवधिभन्दा यस वर्ष ४७ दशमलव चार प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ। चालु आवको पुससम्म लक्ष्यभन्दा एक अर्ब ५३ करोड बढी अर्थात् लक्ष्यभन्दा २३.१प्रतिशत बढी राजस्व संकलन भएको हो। गत आवको तुलनामा यो रु दुई अर्ब ६३ करोडले बढी हो।
चालु आवको पुस महिनामा एक अर्ब २६ करोड ८७ लाख १३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको कार्यालयले रु एक अर्ब ६६ करोड ८७ लाख ९१ हजार अर्थात् लक्ष्यको ३१ दशमलव पाँच प्रतिशत बढी सङ्कलन गरेको छ। आन्तरिक राजस्व विभागले आन्तरिक राजस्व कार्यालय भैरहवालाई चालु आव २०८२र०८३ मा रु १५ अर्ब ५० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ।
आन्तरिक राजस्व कार्यालयको सक्रियताका कारण कर सङ्कलनमा उल्लेख्य वृद्धि भएको यहाँ कार्यरत कर्मचारी दाबी छ। अर्थतन्त्रमा परिसूचकमा देखिएको सुधार र स्थानीयस्तरमा बक्यौता असुलीका लागि कार्यालयको पहलबाट लक्ष्यभन्दा माथि कर सङ्कलन भएको कार्यालयले जनाएको छ।
करदाताको घर ठेगाना, कारोबारस्थलमा पत्राचार गर्ने, एसएमएस र टेलिफोनबाट सूचित गर्ने, स्थानीय तहसँग समन्वय गरेर सूचना टाँस गर्ने, नियमित, क्षेत्रगत र प्रभावकारी रूपमा बजार अनुगमन, आर्थिक गतिविधिमा पनि केही वृद्धि भएको कारण राजस्व सङ्कलन बढेको प्रमुख कर अधिकृत पोख्रेलको भनाइ छ।
यस अवधिमा बजेटले दिएका छुट सुविधा कार्यान्यवन, करदाता शिक्षालाई बढी प्रभावकारी, नक्कली बिजक जारी गर्ने करदातालाई कारबाही गरिएको उनले बताए। कर छलीलाई न्यूनीकरण गर्ने प्रयास गरिएको उनको भनाइ छ।
आन्तरिक राजस्व कार्यालय भैरहवाले करदाताबाट बाँकी–बक्यौता असुली गर्दै राजस्व सङ्कलन बढाउने उद्देश्यले विशेष अभियान सञ्चालन गरेको थियो। कार्यालयले २०८२ कात्तिकदेखि पुससम्म सञ्चालन गरेको यो अभियानबाट १२ करोड ६२ लाख बक्यौता राजस्व संकलन भएको छ। आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क नबुझाएका करदातासम्म प्रत्यक्ष पुगेर राजस्व दाखिलाका लागि अभियान सञ्चालन गरिएको थियो।
कर अधिकृत गौरव पाण्डेका अनुसार पुस महिनासम्म मूल्य अभिवृद्धि कर विवरण, कर र लाग्ने २५ प्रतिशत ब्याज बुझाउने करदातालाई अन्य जरिवाना तथा थप दस्तुर (कर र ब्याजको २५ प्रतिशत) पूर्ण रूपमा मिनाहा गरिएको थियो।
त्यस्तै अन्तःशुल्कमा लाग्ने विलम्ब शुल्कको ५० प्रतिशत बुझाएमा बाँकी विलम्ब शुल्क र जरिवाना पनि मिनाहा हुने व्यवस्था गरिएको थियो। सो अवधिमा २१३ जनाले छुट सुविधा लिएको प्रमुख कर अधिकृत पोख्रेलले बताए। मूल्य अभिवृद्धि कर विवरण नबुझाउने ९ प्रतिशत अर्थात् ४१९ जना करदाता हटाइएको हटाइएको उनले जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij