कराँची : पाकिस्तानको कराँचीस्थित एक व्यस्त सपिङ सेन्टरमा शनिबार भएको भीषण आगलागीमा परी एक अग्नि नियन्त्रकसहित ६ जनाको मृत्यु भएको छ। झन्डै १ हजार २०० पसलहरू रहेको आठ हजार वर्गमिटरमा फैलिएको 'गुल प्लाजा' मा लागेको आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। भवनका केही भागहरू भत्किएका कारण उद्धार कार्यमा समेत ठूलो अवरोध पुगेको छ।
स्थानीय आपतकालीन सेवाका अनुसार भुईँतलाबाट सुरु भएको आगो केही समयमै माथिल्लो तलासम्म फैलिएको थियो। भवनभित्र प्लास्टिक, फोम, कपडा र अत्तरजस्ता प्रज्वलनशील पदार्थहरू भएकाले आगोले उग्र रूप लिएको उद्धारकर्मीहरूको भनाइ छ। प्रहरीका अनुसार आगलागीमा परी २० जनाभन्दा बढी घाइते भएका छन् भने भवनभित्र अझै मानिसहरू फसिरहेको आशंका गरिएको छ।
आफ्ना आफन्तको खोजीमा रहेका परिवारका सदस्यहरू आइतबार बिहानैदेखि ध्वस्त भएको भवन बाहिर जम्मा भएका छन्। अहिलेसम्म ३० जनाभन्दा बढी बेपत्ता भएको उजुरी परेपछि प्रशासनले बेपत्ताहरूको विवरण संकलन गर्न विशेष डेस्क स्थापना गरेको छ। प्रहरी सर्जन सुमैय्या सैयदले अस्पतालमा ६ वटा शव प्राप्त भएको र घाइतेहरूको उपचार भइरहेको जानकारी दिँदै सहरमा 'मास डिजास्टर' प्रोटोकल लागू गरिएको बताएकी छिन्।
Shivam Cement
घटनाप्रति दुःख व्यक्त गर्दै पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले सिन्ध प्रान्त सरकारलाई यस घटनाको गम्भीर छानबिन गर्न निर्देशन दिएका छन्। साथै उनले कराँचीका सबै व्यावसायिक र आवासीय भवनहरूको सुरक्षा व्यवस्थाको व्यापक पुनरावलोकन गर्न समेत आदेश दिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij