काठमाडौं : बुधबार बिहान जुम्ला, जोमसोम, जिरी लगायतको तापक्रम माइनसमा झर्यो। काठमाडौं उपत्यकाकै तापक्रम २.३ डिग्री सेल्सियस मापन भयो। यस्तो ठिहिर्याउने जाडोका बावजुद देशका विभिन्न भागमा डढेलो र आगलागीका घटना भइरहेका छन्।
चीनको स्वशासित क्षेत्र तिब्बतको न्यालम–खासाको वनमा लागेको भीषण डढेलो नियन्त्रणमा नआएपछि पुस २८ देखि तातोपानी नाका बन्द गरिएको छ। चिनियाहरूसँगको समन्वयपछि नाका आंशिक रूपमा बन्द भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामकृष्ण अधिकारीले जानकारी दिए।
मंगलबारदेखि डढेलो नेपालतर्फ आइपुगेको छ। डढेलो आइपुगेको क्षेत्रमा दुईवटा चौंरीको गोठ रहेको र आफूले गौरी शंकर संरक्षण क्षेत्रका कर्मचारीहरू मार्फत सतर्क हुन आग्रह गरेको प्रजिअ अधिकारीले बताए। उनले भने, ‘अस्तिसम्म डढेलो चीनतर्फ सीमित थियो, हिजोदेखि नेपालतिर आइपुगेको जानकारी आएको छ, मानव बस्तीबाट टाढा भए पनि सुरक्षित रहन आह्वान गरेका छौं।’
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व उपसचिव तथा वन डढेलोविज्ञ सुन्दरप्रसाद शर्मा नेपाल र चीनको सीमा क्षेत्रमा लागेको डढेलो अलि फरक र संवेदनशील प्रकृतिको भएको बताउँछन्। उनी भन्छन्, ‘यो डढेलो बारे थप अध्ययनको खाँचो छ। यस डढेलोले देशको सीमा हेर्दैन भन्ने सन्देश दिएको छ। दुई देश बीचको सीमा वारपार गरेको डढेलो नियन्त्रणका लागि संयुक्त प्रयास आवश्यक छ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij