वासिङटन डीसी : पृथ्वीको वायुमण्डलमा रहेका अणुहरू अर्बौँ वर्षदेखि चन्द्रमामा स्थानान्तरण हुँदै आएको नयाँ वैज्ञानिक अध्ययनले देखाएको छ। पृथ्वीको वायुमण्डलबाट सौर्य वायुले उडाएर अन्तरिक्षमा पुर्याएका कणहरू अन्ततः चन्द्रमाको सतहमा टाँसिने गरेको अध्ययनमा उल्लेख छ।
यस अनुसन्धानले पृथ्वीको चुम्बकीय क्षेत्रले चन्द्रमामा वायुमण्डलीय कणको स्थानान्तरण रोक्छ भन्ने लामो समयदेखि रहेको मान्यतालाई चुनौती दिएको छ। अध्ययनअनुसार अक्सिजन, नाइट्रोजनजस्ता महत्वपूर्ण ग्यासहरू पृथ्वीबाट चन्द्रमाको धुलोयुक्त सतह (रेगोलिथ)मा निरन्तर जम्मा भइरहेका छन् र यो प्रक्रिया अहिले पनि जारी छ।
यसअघि चन्द्रमामा भेटिने पानी, कार्बन डाइअक्साइड, हिलियम र नाइट्रोजनजस्ता तत्वहरूको मुख्य स्रोत सूर्यलाई मानिँदै आएको थियो। तर नयाँ अध्ययनले पृथ्वीको चुम्बकीय क्षेत्रले यी कणहरूलाई अन्तरिक्ष हुँदै चन्द्रमासम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेको देखाएको छ।
वैज्ञानिकहरूका अनुसार चन्द्रमामा अक्सिजन र हाइड्रोजनजस्ता तत्वको उपस्थितिले भविष्यका चन्द्र अभियान तथा सम्भावित मानव बसोबासका लागि आवश्यक स्रोत उपलब्ध गराउन सक्छ। चन्द्रमाको माटोबाट पानी प्रशोधन गरी इन्धन उत्पादन गर्ने तथा नाइट्रोजन प्रयोग गरेर वैकल्पिक इन्धन विकास गर्ने सम्भावनाबारे पनि थप अध्ययन भइरहेको जनाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij