Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

दाहालको निधनमा भोलि कांग्रेसका सबै कार्यालय बन्द, ३ दिनसम्म झन्डा आधा झुकाउने

दाहालको निधनमा भोलि कांग्रेसका सबै कार्यालय बन्द, ३ दिनसम्म झन्डा आधा झुकाउने

काठमाडौँ : नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य एवं प्रवक्ता, पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनमा भोलि (पुस २७ गते) पार्टीका सबै तहका कार्यालय बन्द गर्ने भएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले त्यस्तो निर्णय गरेको हो । 

त्यस्तै बैठकले पुस २६, २७ र २८ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यकालहरूमा झन्डा आधा झुकाउने निर्णय गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

त्यस्तै दाहालको स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औँ दिनमा सम्बन्धित जिल्ला ओखलढुङ्गामा शोकसभाको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ । 

८४ वर्षीय दाहालको शुक्रबारका काठमाडौँको मैतिदेवीस्थित निवासमा निधन भएको थियो । स्वर्गीय दाहाल नेपाल पत्रकार महासङ्घको पूर्वसभापति, राष्ट्रपुकार साप्ताहिकका सम्पादक एवं प्रकाशक र गोरखापत्र संस्थानका पूर्व अध्यक्ष भएका थिए । 

दाहाल वि.सं. २०५६ को आम निर्वाचनमा ओखलढुङ्गा जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । उनले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए । बैठकले दाहालको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij