काठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतपत्र छपाइ शुक्रबार शुरु हुने भएको छ। जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ शुरु हुन लागेको हो ।
समानुपातिक र प्रत्यक्षको नमुना मतपत्र छपाइ सकिएपछि निर्वाचन आयोगले वास्तविक मतपत्र छपाइ प्रारम्भ गरेको हो। नेपाली सेनाको सुरक्षा घेरामा मतपत्र छपाइ हुने आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार समानुपातिकमा कुल मतदाताभन्दा पाँचदेखि सात प्रतिशतसम्म बढी मतपत्र छपाइ हुनेछ । सरदर दुई करोड मतपत्र समानुपातिकका लागि छपाइ हुनेछ । फागुन २१ गतेको निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता निर्वाचनमा सहभागी हुनेछन्।
आयोगबाट स्वीकृत डिजाइन अनुसार समानुपातिक मतपत्रमा सेतो कागजमा कालो रङको प्रयोग हु्ने छ । समानुपातिक निर्वाचनमा भाग लिने गरी उम्मेदवारको बन्दसूची पेश गरेका दलका ५८ चिह्न मतपत्रमा हुने छ। समानुपातिकमा देशभरका लागि एकै प्रकारको मतपत्र प्रयोग हुने छ । प्रत्यक्षमा भने निर्वाचन क्षेत्र अनुसार फरक–फरक हुने छ।
प्रत्यक्षतर्फको मतपत्र छपाइ माघ ९ गतेपछि शुरु गर्ने आयोगको तयारी छ । प्रत्यक्षमा पनि दुई करोड हाराहारीमा मतपत्र छापिनेछ। समानुपातिक र प्रत्यक्ष गरी चार करोड हाराहारीमा मतपत्र छापिने छन् ।
नमुना मतपत्र छपाइ सकियो
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदाता शिक्षा प्रयोजनका लागि नमुना मतपत्र छपाइ सकिएको छ। जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा नमुना मतपत्र छपाइ कार्य सकिएको हो । समानुपातिक र प्रत्यक्ष दुवैतर्फ गरी १० लाख मतपत्र छपाइ भएको आयोगले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij