Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

चितवनका पालिकाले रिङरोडदेखि शिक्षा, पर्यटन र कृषिसम्म सहकार्य गर्ने

चितवनका पालिकाले रिङरोडदेखि शिक्षा, पर्यटन र कृषिसम्म सहकार्य गर्ने

चितवन : चितवन जिल्लाका सातवटै पालिकाले रिङरोड निर्माणदेखि शिक्षा, पर्यटन, कृषि, उद्योग तथा फोहरमैला व्यवस्थापनसम्मका क्षेत्रमा संयुक्त रूपमा काम गर्ने सहमति गरेका छन्। कालिका नगरपालिकाको आयोजनामा सम्पन्न दोस्रो समन्वयात्मक बैठकमा चितवनका पालिकासँगै छिमेकी धादिङ र मकवानपुरका पालिकाहरूले पनि विकासका साझा एजेन्डामा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका हुन्।

कालिका नगरपालिकाले जिल्लाका सबै पालिकाका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई सहभागी गराई विकासमा समन्वय गर्ने उद्देश्यसहित दोस्रो पटक यस्तो बैठक आयोजना गरेको हो।

बैठकमा संयुक्त फोहर व्यवस्थापन, चेपाङ, विपन्न तथा सीमान्तकृत बालबालिकाको शिक्षामा एकीकृत कार्यक्रम सञ्चालन गर्ने विषयमा व्यापक छलफल भएको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार विभिन्न एनजिओ, आइएनजिओ र पालिकाले छरिएर लगानी गर्नुको सट्टा एकीकृत रूपमा लगानी गर्दा शिक्षामा राम्रो प्रतिफल प्राप्त हुने निष्कर्ष निकालिएको छ। यसका लागि आवासीय सुविधासहितको बृहत् छात्रावास निर्माण गरी एउटै केन्द्रबाट शिक्षा प्रदान गर्ने विषयमा सबै पालिका एकमत भएका छन्।

बैठकमा सबै पालिकामा भूमि वर्गीकरणमा एकरूपता ल्याउने, लामो समयदेखि चर्चामा रहेको त्रिशूली डाइभर्सन आयोजनालाई संयुक्त पहलमार्फत अघि बढाउने विषयमा पनि छलफल भएको छ। साथै, शक्तिखोर औद्योगिक क्षेत्र छिटो निर्माण गर्ने र आसपासका उद्योगलाई सोही क्षेत्रमा जोड्ने विषयमा सहमति भएको छ।

प्रमुख रेग्मीका अनुसार पालिकाका गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्ने, नयाँ आयोजना भित्र्याउन संयुक्त प्रयास गर्ने तथा कृषि उत्पादनको बजारीकरणमा सहकार्य गर्ने विषयमा पनि छलफल भएको छ। पर्यटन प्रवर्द्धनका लागि चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गर्न आएका पर्यटकलाई ट्रेकिङमार्फत पहाडी चेपाङ बस्ती हुँदै हिमाल अवलोकन गराउने योजनामा पनि सबै सहमत भएका छन्। यसबाट पर्यटकको बसाइ अवधि लम्ब्याउन सकिने विश्वास लिइएको छ।

यस्तै, समग्र जिल्लालाई जोड्ने रिङरोड निर्माण, खैरहनीस्थित कृषि क्याम्पसलाई थप व्यवस्थित बनाउने तथा पहाडी क्षेत्रमा उत्पादन हुने गाँजाको खेती नष्ट गर्ने नीति पुनरावलोकन गर्दै कानुनी दायराभित्र औद्योगिक, औषधि र कपडा उत्पादनमा प्रयोग गर्न सकिने व्यवस्था गर्न संयुक्त पहल गर्ने विषयमा पनि छलफल भएको छ।

सो अवसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले पालिकाहरू मिलेर काम गर्दा लागत घट्ने र काम प्रभावकारी हुने बताउँदै यस्ता बैठक नियमित रूपमा आयोजना गर्न सुझाव दिनुभयो।

बैठकमा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा, खैरहनी नगरपालिकाका प्रमुख शशि खनिया, माडी नगरपालिकाका प्रमुख ताराकाजी महतो, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, राप्ती नगरपालिकाका उपप्रमुख देवेन्द्र लामा, धादिङको बेनिघाट–रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियालगायत जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा कालिका नगरपालिकाभित्रका चेपाङ बालबालिकाको अवस्थाबारे प्रतिवेदनसमेत प्रस्तुत गरिएको थियो। बैठकमा उठेका विषयहरू दुई महिनाभित्र आ–आफ्नो पालिकामा छलफल गरी साझा कार्ययोजना तयार पार्दै रत्ननगर नगरपालिकाको आयोजनामा अर्को बैठक गर्ने सहमति भएको छ।

यसअघि पनि कालिका नगरपालिकाले यस्तै समन्वयात्मक बैठक आयोजना गरेको थियो। यस्ता बैठकले पालिकाबीच अनुभव आदान–प्रदान र असल अभ्यासको अनुसरण गर्न सहयोग पुगेको सहभागीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट