न्युयोर्क : पूर्वअमेरिकी राष्ट्रपति जोन एफ केनेडीकी नातिनी तातियाना स्लोसबर्गको ३५ वर्षको उमेरमा निधन भएको छ। जलवायु परिवर्तनसम्बन्धी पत्रकार समेत रहेकी तातियानाको निधनको जानकारी जोन एफ केनेडी लाइब्रेरी फाउन्डेसनले सामाजिक सञ्जालमार्फत दिएको हो।
उनले केही समयअघि मात्र आफूलाई निकै आक्रामक खालको क्यान्सर भएको र आफूसँग थोरै समय मात्र बाँकी रहेको खुलासा गरेकी थिइन्। डिप्लोम्याट क्यारोलिन केनेडी र डिजाइनर एडविन स्लोसबर्गकी छोरी तातियानाले गत महिना ‘द न्यू योर्कर’ मा एक लेख प्रकाशित गर्दै आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएकी थिइन्।
सन् २०२४ को मे महिनामा आफ्नो दोस्रो सन्तानलाई जन्म दिएलगत्तै उनलाई ‘एक्युट माइलोइड ल्युकेमिया’ ९रगतको क्यान्सर० भएको पत्ता लागेको थियो। उनले उक्त लेखमा आफ्ना साना छोराछोरीले आफूलाई सम्झने छैनन् कि भन्ने डर र परिवारले झेल्नुपर्ने थप एउटा वियोगप्रति चिन्ता व्यक्त गरेकी थिइन्।
केनेडी परिवारले इतिहासमा धेरै व्यक्तिगत त्रासदीहरू भोगेको छ। तातियानाका हजुरबुबा राष्ट्रपति केनेडीको सन् १९६३ मा हत्या भएको थियो भने उनका मामा जोन एफ केनेडी जुनियरको सन् १९९९ मा विमान दुर्घटनामा मृत्यु भएको थियो।
आफ्नी आमालाई कहिल्यै दुःखी नबनाउने प्रयास गर्दागर्दै पनि आफ्नो मृत्युले परिवारमा अर्को वियोग थपिने कुराले आफूलाई मर्माहत बनाएको उनले लेखेकी थिइन्। उनले आफ्ना काका रोबर्ट एफ केनेडी जुनियरको स्वास्थ्य मन्त्रीमा भएको नियुक्तिप्रति पनि असन्तुष्टि जनाएकी थिइन्।
तातियानाले द न्यू योर्क टाइम्सलगायतका प्रतिष्ठित सञ्चारमाध्यममा जलवायु परिवर्तनका विषयमा कलम चलाउँदै आएकी थिइन्। उनले वातावरणमा मानव व्यवहारको प्रभावबारे ‘इनकन्स्पिकुअस कन्जम्सन’ नामक पुस्तक समेत लेखेकी छिन्। उनका भाइ ज्याक स्लोसबर्ग अहिले न्यूयोर्कबाट कंग्रेसका लागि चुनावी मैदानमा छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij