Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय

इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय

रावलपिन्डी  :  पाकिस्तानको एक विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा तेहरिक-ए-इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ। संघीय अनुसन्धान एजेन्सी (एफआईए) को विशेष अदालतले शनिबार रावलपिन्डीको अडियाला जेलमा भएको सुनुवाइपछि यो कडा फैसला सुनाएको हो। अदालतले दुवैलाई जनही १ करोड ६४ लाख रुपैयाँ जरिवाना समेत गरेको छ भने जरिवाना नतिरेमा थप कैद भुक्तान गर्नुपर्ने आदेश दिएको छ।

विशेष न्यायाधीश शाहरुख अर्जुमन्दले सुनाएको फैसलाअनुसार इमरान खानलाई आपराधिक विश्वासघात र साझा इरादाका मुद्दामा १० वर्ष तथा सरकारी कर्मचारीद्वारा गरिएको आपराधिक दुव्र्यवहारको मुद्दामा ७ वर्ष गरी कुल १७ वर्षको सश्रम कारावास तोकिएको छ। उनकी पत्नी बुशरा बीबीलाई पनि सोही बमोजिमको सजाय सुनाइएको छ। यसअघि गत अक्टोबरमा भएको बहसका क्रममा खान दम्पतीले आफूमाथिका सबै आरोपहरू अस्वीकार गर्दै यो फैसला राजनीतिबाट अयोग्य बनाउने 'मनगढन्ते र प्रतिशोधपूर्ण' खेल भएको बताएका थिए।

इमरान खानले प्रधानमन्त्री रहँदा तोकिएको नीति र उचित प्रक्रिया पालना गरेरै उपहारहरू राखेको र त्यसको मूल्याङ्कन गरी रकम राष्ट्रिय कोषमा जम्मा गरेको दाबी गर्दै आएका छन्। यद्यपि, अदालतले भ्रष्टाचार रोकथाम ऐन र पाकिस्तान दण्ड संहिताका विभिन्न धाराअनुसार उनीहरूलाई दोषी ठहर गरेको छ। पछिल्लो समय श्रृंखलाबद्ध कानुनी झमेलामा फसेका खानका लागि यो सजायलाई ठूलो राजनीतिक धक्काका रूपमा हेरिएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट