Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भारतले गर्‍याे बङ्गलादेशको आरोप अस्वीकार

भारतले गर्‍याे बङ्गलादेशको आरोप अस्वीकार

काठमाडाैँ  : भारत सरकारले बङ्गलादेशको अन्तरिम सरकारले हालै सार्वजनिक गरेको दाबीलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ । बङ्गलादेशमा स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय चुनावका लागि आफ्नो समर्थन पुनः पुष्टि गरेको छ । दुई छिमेकी मुलुकबिच कूटनीतिक आदानप्रदान तीव्र भइरहेका बेला भारतको यो प्रतिक्रिया आएको हो ।

भारतीय विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा ‘१४ डिसेम्बर २०२५ को प्रेस नोटमा बङ्गलादेशको अन्तरिम सरकारले गरेको दाबीलाई भारतले स्पष्ट रूपमा अस्वीकार गर्दछ’ भनिएको छ ।

उक्त प्रतिक्रिया बङ्गलादेशको विदेश मन्त्रालयले पूर्व प्रधानमन्त्री शेख हसिनाले विदेशबाट हिंसा भड्काएको आरोप लगाउँदै भारतीय उच्चायुक्तलाई बोलाएको केही समयपछि आएको हो ।भारतले आफ्नो दीर्घकालीन अडान दोहोर्‍याउँदै बङ्गलादेशमा शान्तिपूर्ण वातावरणमा स्वतन्त्र, निष्पक्ष, समावेशी र विश्वसनीय चुनाव हुनुपर्नेमा जोड दिएको छ ।

विदेश मन्त्रालयका अनुसार भारतले कहिल्यै पनि आफ्नो भूभाग बङ्गलादेशका मित्रवत जनताको हितविरुद्ध हुने गतिविधिका लागि प्रयोग गर्न अनुमति दिएको छैन ।विज्ञप्तिमा भारतले बङ्गलादेशको अन्तरिम सरकारले आन्तरिक कानून व्यवस्था कायम राख्दै शान्तिपूर्ण चुनाव सम्पन्न गराउन आवश्यक सबै कदम चाल्ने अपेक्षा व्यक्त गरेको छ ।

यसअघि बङ्गलादेशले भारतमा रहेका शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमलको सुपुर्दगीको माग गर्दै उनीहरूले हिंसा भड्काएको र आगामी चुनावमा बाधा पुर्‍याउने प्रयास गरेको आरोप लगाएको थियो । ढाकाले भारतमा रहेका अवामी लिगका केही सदस्यले बङ्गलादेशविरुद्ध गतिविधि गरिरहेको दाबीसमेत गरेको छ ।बङ्गलादेशको विदेश मन्त्रालयका अनुसार ती गतिविधिहरूमा चुनावी प्रक्रियामा अवरोध पुर्‍याउन आतङ्कवादी कार्यहरूको योजना, सङ्गठन र सहयोगसमेत रहेको आरोप छ ।

साथै, बङ्गलादेशी राजनीतिक नेता सरिफ उस्मान हादीको हत्या प्रयासमा संलग्न संदिग्धहरू भारत भाग्न नपाउन् भनी सहयोग मागिएको छ ।बङ्गलादेशका अनुसार भारतीय उच्चायुक्तले भारत बङ्गलादेशमा शान्तिपूर्ण चुनावका लागि प्रतिबद्ध रहेको र आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको स्पष्ट पारेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट