Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

म्यानमारबाट ४७ जना नेपाली नागरिकको उद्दार

म्यानमारबाट ४७ जना नेपाली नागरिकको उद्दार

काठमाडौँ : विभिन्न प्रलोभनमा परी म्यानमारका अवैध अनलाइन 'स्क्यामिङ' केन्द्रहरूमा काममा बनाइएका ४७ जना नेपाली नागरिकको उद्दार गरिएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासले थाइल्याण्डका सम्बन्धित निकायहरूसँगको समन्वय र सहयोगमा उनीहरूलाई उद्दार गरी बुधबार नेपाल फर्काएको हो। उद्दार गरिएका नेपालीहरूलाई नेपाल वायुसेवा निगमको विमान मार्फत काठमाडौँ पठाइएको दूतावासले जनाएको छ।

को–को परे उद्दारमा ? उद्दार गरिएका ४७ जनामध्ये ४५ जना पुरुष र २ जना महिला रहेका छन्। उनीहरू नेपालका विभिन्न २६ जिल्लाका बासिन्दा हुन्। तथ्यांकअनुसार झापाका ५ जना, धादिङ, गोरखा, रुपन्देही, सिन्धुपाल्चोक र उदयपुरका ३/३ जना तथा दाङ, महोत्तरी, मोरङ, नवलपरासी, नुवाकोट, स्याङ्जा र तनहुँका २/२ जना रहेका छन्।

त्यस्तै चितवन, दैलेख, कास्की, काठमाडौँ, काभ्रे, पाल्पा, रामेछाप, रौतहट, सल्यान, सर्लाही, सिन्धुली, ताप्लेजुङ र तेह्रथुम जिल्लाका १/१ जनाको उद्दार गरिएको छ। उनीहरू १७ देखि ४१ वर्ष उमेर समूहका छन् भने अधिकांशले कक्षा १२ उत्तीर्ण गरेका छन्।

दूतावासका अनुसार पीडितहरू सामाजिक सञ्जाल (फेसबुक, टिकटक, टेलिग्राम, ह्वाट्सएप), पब्जी खेल्ने साथी वा चिनजानका व्यक्तिमार्फत प्रलोभनमा परेका थिए। उनीहरूलाई काठमाडौँमा घण्टाको यति कमाइ हुन्छ, एक लाखभन्दा बढी तलब हुने, अफिसको काम, डाटा इन्ट्री जस्ता आकर्षक प्रस्ताव राखेर भारत, दुवई हुँदै म्यानमार पुर्‍याइएको थियो।

म्यानमार पुगेपछि सुरुमा केही समय राम्रो व्यवहार गरे पनि पछि उनीहरूलाई 'अनलाइन स्क्यामिङ' (ठगी) को काममा लगाइएको थियो। तोकिएको लक्ष्य पूरा गर्न नसकेमा शारीरिक तथा मानसिक यातना दिने, बन्धक बनाउने, परिवारबाट फिरौती माग्ने र अर्को व्यक्तिलाई फसाएर ल्याए मात्र छोड्ने जस्ता अमानवीय व्यवहार गरिएको पीडितहरूले बताएका छन्। उनीहरू २ महिनादेखि १८ महिनासम्म त्यहाँ बन्धक बनेका थिए।

दूतावासले म्यानमार, थाइल्याण्ड र लाओसका सीमा क्षेत्रमा रहेका स्क्यामिङ सेन्टरहरूबाट नेपालीहरूको उद्दार कार्य जारी राखेको जनाएको छ। चालू आर्थिक वर्षमा मात्रै हालसम्म १४१ जनाको उद्दार गरी नेपाल पठाइएको दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसअघि आर्थिक वर्ष २०८०/८१ मा ६८ जना र २०७९/८० मा १५६ जनाको उद्दार गरिएको थियो।

दूतावासले सामाजिक सञ्जाल वा अपरिचित व्यक्तिको लहलहीमा लागेर रोजगारीका लागि विदेश नजान आग्रह गरेको छ। नेपाल सरकारको श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान र भिजिट भिसामा थाइल्याण्ड, म्यानमार, लाओस, कम्बोडिया जस्ता मुलुकमा कामको खोजीमा नजान दूतावासले सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट