हेटौँडा : हेटौँडा बजार क्षेत्रको सडक विस्तारको काम आज रोकिएको छ । शनिवार बिहानैदेखि सुरु भएको हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्य आज भने नहुने मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
राजमार्ग क्षेत्रको २५/मिटर सडक सीमा कायम गर्नेगरी सडक डिभिजन कार्यालय हेटौँडाले हेटौँडाको मुख्य बजार क्षेत्रको बजारका घर तथा संरचनाहरू भत्काउने काम गरेको थियो । शनिवार मात्र हेटौँडा–१५ रातोमाटेदेखि मुख्य बजार क्षेत्रको मेनरोड बुद्ध चोक, राप्ती रोड, पिपल बोट तथा चैकीटोल ओरालोसम्मका संरचनाहरू भत्काइएको थियो ।
महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ क्षेत्रको हाल २५/२५ गज (२२.५ मिटर) क्षेत्रका नीजि तथा सार्वजनिक घर संरचनामा डोजर प्रोग गरेर भत्काइएको थियो । जोशीले सडक डिभिजन कार्यालय हेटौँडाको योजना अनुसार सुरक्षा संयन्त्र परिचालन गरेर निर्धारित क्षेत्रको अधिकांश संरचनाहरू भत्काइएको बताए ।
महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत हेटौँडाको रातोमाटेदेखि बुद्ध चोक हुँदै राप्तीपुल र बुद्धचोकबाट सामरी पुलसम्मको ९.५ किलोमिटर सडक सीमा खाली गर्नेगरी कार्यालयले मंसिर ५ मा सूचना जारी गरेको थियो । सोही अनुसार १५ दिनको म्याद सकिएको दिन उक्त कार्य अघि बढाएर संरचना हटाइएको उनले बताए ।
सो क्षेत्रको करिव २ किलोमिटर क्षेत्रको संरचना हटाउन बाँकी रहेकोले क्रमशः काम गरिने उनले बताए । त्रिभुवन राजपथको चौकीटोल क्षेत्रका केही स्थानमा सडक सीमामा निर्माण भएका घर तथा टहरा हटाउन बाँकी रहेको उनले बताए । उनका अनुसार आइतबार कुनैपनि स्थानको घर तथा टहरा हटाउने काम गरिने छैन । शनिवार भत्काइएको संरचनाहरूको व्यवस्थापनको काममा सडक कार्यालय, हेटौँडा उपमहानगरपालिका लगायतका निकायहरूसँग समन्वय गरेर काम गरिने उनले बताए ।
‘हामीले शनिवार योजना अनुसारका क्षेत्रको संरचना हटाउने गरी घर टहरा भत्काएका छौँ । आज हाम्रो कुनै पनि योजना छौँ,’ उनले भने, ‘योजना अनुसार शनिवार नै रातोमाटेदेखि बुद्धचोक र राप्ती रोड तथा पिपल बोट, चौकीटोल ओरालो क्षेत्रको संरचना भत्काइएको छ । चौकीटोल क्षेत्रको केही घर तथा संरचना हटाउन बाँकी रहेकाले क्रमशः अघि बढ्ने तयारी रहेको छ । आज उपमहानगरपालिका र सडक कार्यालयको समन्वयमा भत्किएका संरचनाहरूको व्यवस्थापनको काम हुनेछ ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij