खोटाङ : हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको छ।शनिबारको कार्यपालिका बैठकले नगर क्षेत्रका विद्यालयका शिक्षक तथा कर्मचारीका लागि स्वीकृत सरकारी कार्यविधिअनुसार चालू आर्थिक वर्षदेखि स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको हो।
नगरप्रमुख विमला राईका अनुसार स्थायी, स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी, करार र प्राविधिक समूहका प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई पनि स्थानीय भत्ता प्रदान गर्ने निर्णय भएको छ। शिक्षकहरूको मनोबल बढाएर सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न यो निर्णय गरिएको हो।
जिल्लाको दोस्रो ठूलो (११ वडा रहेको) यस नगरपालिकामा १२ वटा माध्यमिक (कक्षा १२ सम्म), १५ वटा आधारभूत (कक्षा १ देखि ८ सम्म) र ५९ वटा प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) गरी जम्मा ८६ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्।
यो भत्ताबापत नगरपालिकालाई एक आर्थिक वर्षमा रु एक करोड ७३ लाखको थप व्ययभार पर्नेछ। बालविकास केन्द्रदेखि कक्षा १२ सम्म करिब ५ हजार २०० विद्यार्थी अध्ययनरत यस नगरपालिकामा ३०९ जना शिक्षक कार्यरत छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij