Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

बाँस प्रवर्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढी नाष्टद्वारा पुरस्कृत

बाँस प्रवर्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढी नाष्टद्वारा पुरस्कृत

खोटाङ : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पुरस्कृत गरेको छ।नाष्टको ४३औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहका अवसर पारेर आज आयोजित कार्यक्रममा नगरपालिकालाई ‘भुवनेश्वर प्रविधि पुरस्कार-२०८२’ प्रदान गरिएको हो। बाँसजन्य स्रोतको संरक्षण, प्रवर्धन तथा प्रयोगमार्फत स्थानीयस्तरमा यसलाई भवन निर्माण, हस्तकला, व्यावसायिक उत्पादन तथा वातावरणमैत्री समाधानका रूपमा रूपान्तरणसँगै बाँससम्बन्धी सीप विकास, प्रविधि विस्तार र उद्यमशीलता प्रोत्साहनमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले नगरलाई पुरस्कृत गरिएको नाष्टले जनाएको छ।

नगरपालिकाले प्राप्त गरेको उक्त पुरस्कार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानबाट निर्माणमा किफायत हुने प्रविधि विकास गर्ने, प्रविधिको अनुसन्धान तथा अनुसन्धानका क्षेत्रमा योगदान दिन सफल अनुसन्धानकर्ता वा संस्थाको प्रोत्साहन तथा सम्मानका लागि स्थापना गरिएको पुरस्कार हो। कृषि विकास, वातावरण संरक्षण, जलस्रोत व्यवस्थापन, जैविक विविधता, शिक्षा, सेवा प्रवाह, सुशासन, पारदर्शिता, प्राविधिक सुविधा तथा समग्र विकासका विभिन्न सूचकमा सञ्चालन गरेको मूल्याङ्कनमा देशका ७५३ वटा स्थानीय तहमध्ये यो नगरपालिका सबैभन्दा उत्कृष्ट रहेको नाष्टद्वारा उपलब्ध पत्रमा जनाइएको छ।

नाष्टका कुलपति एवम् सरकारका प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मङ्सिर १२ गते बसेको नाष्टको ४९औँ प्राज्ञसभाले यो नगरपालिकालाई ‘भुवनेश्वर प्रविधि पुरस्कार’बाट पुरस्कृत गर्ने निर्णय गरेको थियो।

नाष्टले प्रदान गरेको रु. २५ हजार राशिको पुरस्कार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् नाष्टका सहकुलपति महावीर पुनले आज ललितपुरस्थित खुमलटारमा आयोजित कार्यक्रममा हस्तान्तरण गरे।

पुरस्कार ग्रहण गर्दै नगरप्रमुख तीर्थराज भट्टराईले भने, “नाष्टले प्रदान गरेको यो पुरस्कार नगरवासीको सामूहिक मेहनत र प्रतिबद्धताको परिणाम हो। नगरको यो उपलब्धिलाई संरक्षण गर्दै आगामी दिनमा कृषि, वातावरण, शिक्षा, सामाजिक समावेशीकरण, पूर्वाधार विकास र सुशासनका क्षेत्रमा प्रभावकारी काम गर्दै जाने हौसला मिलेको छ।”

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट