चितवन : नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत नवलपुर खण्डमा हाल सर्भिस लेन निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। गैंडाकोट नगरपालिका र देवचुली नगरपालिकाका बस्ती क्षेत्रमा सर्भिस लेन निर्माण धमाधम भइरहेको छ।
गैँडाकोटको भेडाबारी, हर्कपुर, बेल्डिया, अमरापुरी तथा देवचुलीको दुम्कौली, दलदलेलगायतका क्षेत्रमा काम चलेको छ। आयोजनाले गैँडाकोटदेखि कावासोतीस्थित केरुगे खोला पुलसम्म मात्र सर्भिस लेन निर्माण गर्ने योजना बनाएको छ।
आयोजनाका पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार गैँडाकोटदेखि केरुगे खोला पुलसम्म दुवैतर्फ १७–१७ किलोमिटर गरी कुल ३४ किलोमिटर सर्भिस लेन निर्माण गरिनेछ। हालसम्म ६ किलोमिटरभन्दा बढी क्षेत्रमा कालोपत्रे सकेको उहाँले जानकारी दिनुभयो। डण्डादेखि दुम्कीवाससम्म भने सर्भिस लेन निर्माण गर्ने व्यवस्था डिजाइनमै नरहेको र आगामी चरणमा मात्रै समावेश हुन सक्ने बताइएको छ।
खनालका अनुसार सर्भिस लेन निर्माण पुरानो प्रविधि प्रयोग गरेर हुने भएकाले कम तापक्रममा गुणस्तर कायम राख्न कठिन हुन्छ। “पुस र माघ महिनामा तापक्रम उपयुक्त नहुने भएकाले काम रोक्छौँ। फागुनको अन्तिम सातादेखि पुनः निर्माण सुरु हुनेछ,” उहाँले भन्नुभयो।
सर्भिस लेनका उद्देश्य र प्रयोगबारे स्थानीयमा गलत बुझाइ रहेको खनालले बताउनुभयो। उहाँका अनुसार धेरै स्थानीयले ठाउँठाउँमा युटर्न माग गरे पनि सडक सुरक्षाका मापदण्डअनुसार चोकैपिच्छे युटर्न राख्न सकिँदैन।
“सर्भिस लेन केवल पार्किङका लागि हो भन्ने बुझाइ गलत हो। यसमा स्थानीय रुटका सवारी चल्ने भएकाले बढी युटर्न राख्दा दुर्घटनाको जोखिम बढ्छ,” उहाँले स्पष्ट पार्नुभयो।
सर्भिस लेन र मुख्य सडकबीच कङ्क्रिटको न्यु जर्सी बेरियर राखिने र करिब १४ किलोमिटर क्षेत्रमा यसका लागि आधार संरचना तयार भइसकेको जानकारी उहाँले दिनुभयो। पैदल यात्रुका लागि ठाउँठाउँमा जेब्रा क्रस बन्नेछ भने महत्वपूर्ण भित्री सडक जडान भएका स्थानमै मात्र युटर्न रहनेछ।
नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत नवलपुर खण्डमा हालसम्म ७६ प्रतिशत काम पूरा भएको छ। सम्पूर्ण परियोजना नारायणगढदेखि दाउन्नेसम्म ६५ किलोमिटरको पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्म ४९ किलोमिटरको पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर अघि बढाइएकाे छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij