Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

किरात समुदायको सांस्कृतिक पहिचान, उधौली नाच–गानमा उत्साह

किरात समुदायको सांस्कृतिक पहिचान, उधौली नाच–गानमा उत्साह

खोटाङ : प्रकृति पूजक किरात समुदायको महान चाड साकेला उधौली आजदेखि सुरु भएको छ। किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म उभौली चाड मनाउने गर्छन्।

खोटाङको मझुवागढीमा भेला भएर किराती पुर्खाहरूले प्रकृतिको पूजा गर्दै उधौली चाडको सुरुवात गर्ने चलन छ। ऐतिहासिक स्थल तथा भूमे थानमा पूजा गर्दै जिल्लाका विभिन्न ठाउँमा औपचारिक कार्यक्रम समेत राखिएको छ।

साकेला पर्वको उद्देश्य अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामना गर्दै प्रकृतिको पूजा गर्नु हो। पर्वमा कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरिन्छ।

उधौलीको अवसरमा खोटाङका ऐतिहासिक तथा पर्यटकीय स्थलहरू – हलेसी तुवाचुङ, रुपाकोटगढी, मझुवागढी, मेरुङ, जन्तेढुङ्गा, छोङ्खा, कपासेभञ्ज्याङ – लगायत साकेला थानमा पूजा गरी साकेला सिली नाच्ने चलन छ।

सिली नाचमा युवा–युवतीहरू हातमा ढोल, झ्याम्टा, चम्मर बोकेर गीतको लय मिलाउँदै गोलो घेरामा बसेर नाच्छन्। युवा पुरुष दौरा–सुरुवाल र टोपीमा सजिएका छन् भने युवतीहरू गुन्युचोलो, लाछा, सिरबन्दी, चेप्टे सुन, पैसाको हारी माला, नौगेडी जस्ता गहनामा सजिएका हुन्छन्। नाचका क्रममा पेचुरी, धजुरी, वाबु, बुन्छत र मुर्चुङ्गा झुण्ड्याइन्छ र चराचुरुङ्गी वा जीवजनावरको हाउभाउ अभिनय गरेर प्रदर्शन गरिन्छ।

धरान लगायतका शहरमा पनि युवा पुस्ता उधौली–उभौली जस्ता सांस्कृतिक पर्वमा सक्रिय छन्। यस पर्वमा पुर्खालाई सम्झेर सिलीमार्फत सम्मान गर्ने चलन छ।

साकेला उधौली सांस्कृतिक रूपमा किराती समुदायको पहिचानसँग जोडिएको छ। खोटाङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, धनकुटा, इलामलगायत जिल्लामा साकेला सिली नाच्ने चलन प्रचलित छ।

चार किरात समुदाय (राई, लिम्बू, सुनुवार, याक्खा)ले मङ्सिर पूर्णिमामा उधौली र वैशाख पूर्णिमामा उभौली पर्व भव्य रूपमा मनाउँछन्। लिम्बूले चासोक तङ्नाम, याक्खाले चासुवा, सुनुवारले फलेस्याँदर मनाउँछन्।

साकेला पर्वको परम्परा अनुसार उधौलीमा एक दिन साकेला थानमा सिली नाचिन्छ, जबकि उभौलीमा एक महिनासम्म टोल–टोलमा ढोल–झ्याम्टा बजाउँदै नाच्ने गरिन्छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट