तनहुँ : पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तारको क्रममा भासिएको सडक खण्डको चार महिनापछि पुनः मर्मतकार्य सुरु भएको छ।
व्यास नगरपालिका–३ दुर्गामन्दिरदेखि मादीपुलसम्म करिब १०० मिटर सडक साउन अन्त्यमा अत्यधिक सवारी चापका कारण भासिएपछि एकतर्फी आवागमनमा सीमित गरिएको थियो। अब उक्त खण्डमा संरचनात्मक रूपमा बलियो बनाउन काम तीव्र गतिमा भइरहेको छ, पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो।
पाण्डेका अनुसार, पहिलो निर्माणमा बनेका दुई लेनले अत्यधिक ट्राफिकको भार सहन नसक्दा सडक भासिएको हो। उनले भने, “स्थायी उपचारका साथ सडक पुनः सुरक्षित बनाइँदै छ। मर्मत सम्पन्न भएपछि सवारी सञ्चालन थप सहज र सुरक्षित हुनेछ।”
जामुने–आँबुखैरेनी ४१.५ किलोमिटरको पूर्वी खण्ड चार लेनमा विस्तार भइरहेको छ। सम्झौता विसं २०७७ माघ १७ मा भई, काम २०७८ वैशाख २ देखि चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ठेक्कामा लिएको हो। हालसम्म पूर्वी खण्डको ८६ प्रतिशत काम सम्पन्न भइसकेको छ। पूर्वी खण्डको लागत ६ अर्ब २१ करोड ३१ लाख १३ हजार, र पश्चिम खण्डको लागत ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँ रहेको छ। परियोजना एशियाली विकास बैंकको ऋण सहयोगमा अघि बढिरहेको छ।
तनहुँस्थित मादी नदीमाथि निर्माणाधीन करिब ३१५ मिटर लम्बाइको चारलेन आर्क डिजाइन पुलको काम तीव्र गतिमा अघि बढिरहेको छ। यो पुल व्यास नगरपालिका–४ र ५ जोड्ने र मुग्लिन–पोखरा सडक योजनाको महत्त्वपूर्ण भाग हो।
सूचना अधिकारी पाण्डेका अनुसार, पुलको संरचनागत काम लगभग सकिएको छ र डेक स्ल्याब, रेलिङ तथा फिनिसिङ कार्य तीव्र गतिमा भइरहेको छ। सन् २०२२ अगष्ट ११ मा एक अर्ब २१ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको यो पुल देशकै सबभन्दा लामो आर्क डिजाइन पुल हो।
निर्माण कम्पनी जेड–आइष्ट–अन्नक जेभीका साइड इन्चार्ज इञ्जिनियर धर्मप्रताप लामगादेले दैनिक करिब १०० मजदूर परिचालन गरिएको र काम निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। पुलको आकर्षक बनावटले पर्यटक आकर्षण बढाउने र व्यास नगरसहित पृथ्वीराजमार्ग प्रयोगकर्ताका लागि सुरक्षित, सुविधाजनक आवागमन सुनिश्चित गर्ने लक्ष्य परियोजनाले लिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij