Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

जनकपुर–ढल्केबर सडकमा तीनवटा आकासे पुल निर्माण तीव्र गतिमा

जनकपुर–ढल्केबर सडकमा तीनवटा आकासे पुल निर्माण तीव्र गतिमा

काठमाडौं : धनुषाको जनकपुर–ढल्केबर छ लेन सडकखण्डमा तीन स्थानमा आकासे पुल निर्माण धमाधम भइरहेको छ। सडक जाम, पैदल यात्रुको बढ्दो चाप र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक डिभिजन कार्यालय मुजेलियाले करिब १० करोड ५० लाख रुपैयाँको लागतमा तीनवटा आकासे पुल निर्माण सुरु गरेको हो।

सडक डिभिजन कार्यालय जनकपुरधामका इन्जिनियर उज्जवलका अनुसार, लक्ष्मीनिया बजार, छिरेश्वरनाथ–महिला विकास चोक र सखुवा चोकमा पुल निर्माण तीव्र गतिमा भइरहेको छ। पिल्लरदेखि आवश्यक पूर्वाधार निर्माणको काम एक महिनाअघि सुरु भएको बताइएको छ।

इन्जिनियर उज्जवलले भने, “सडक जाम र दुर्घटना जोखिम बढ्दै गएपछि यस स्थानमा आकासे पुलको आवश्यकता देखियो। चालु आर्थिक वर्षको असार मसान्तसम्म तीनवटै पुल निर्माण सम्पन्न गर्ने योजना छ।”

निर्माणाधीन तीनवटै पुल फरक–फरक लागतमा निर्माण भइरहेका छन्:

  • लक्ष्मीनिया बजार: ३ करोड ४२ लाख रुपैयाँ

  • महिला विकास चोक: ३ करोड ३५ लाख रुपैयाँ

  • सखुवा चोक: ३ करोड ४५ लाख रुपैयाँ

प्राविधिक डिजाइनअनुसार, सबै पुल ५.६ मिटर उचाइ, २९.४ मिटर लम्बाइ र ३ मिटर चौडाइका हुनेछन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले भने, “पूर्व–पश्चिम राजमार्ग हुँदै मधेश प्रदेशको राजधानी जनकपुरधाम प्रवेश गर्ने सो सडकमा आकासे पुल निर्माण भएपछि सवारी दुर्घटना कम हुने र ट्राफिक व्यवस्थापन सहज हुने अपेक्षा छ।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट