बेइजिङ : चीनले भवनमा आगलागी जोखिम कम गर्न व्यापक अभियान सुरु गरेको छ । हङकङमा भएको एक भयानक आगलागीमा कम्तीमा १२८ जनाको मृत्यु भएपछि चीनमा यस्तो अभियान सुरु गरिएको हो । यसलाई वित्तीय केन्द्रमा भएको ८० वर्षमा लागेको सबैभन्दा ठूलो दुर्घटना मानिन्छ ।
राज्य सञ्चार माध्यम सीसीटीभीका अनुसार चीनको राज्य परिषद् सुरक्षा समितिले हालै भवनमा मुख्य आगलागी जोखिम पहिचान गरी सुधार गर्ने अभियान सुरु गरेको जानकारी दिएको छ । अभियानअन्तर्गत भवनहरूमा सजिलै जल्ने सामग्रीको प्रयोग जाँच गरिनेछ ।
सीसीटीभीले भनेको छ, ‘सबै क्षेत्रमा जिम्मेवारीको भावना बलियो बनाउनु पर्नेछ । विकास र सुरक्षा सँगसँगै समन्वय गर्नुपर्छ र भवनमा मुख्य आगलागी जोखिमको अनुसन्धान तथा सुधारलाई अत्यन्त महत्वपूर्ण कार्यका रूपमा लिनुपर्छ । निगरानी र निरीक्षणलाई तीव्र बनाउँदै सुनिश्चित परिणाम ल्याउनुपर्छ ।’
तीन दिने शोक
हङकङका अधिकारीहरूले आगलागीमा ज्यान गुमाएकाहरूको सम्झनामा तीन दिने शोकको सुरुवातमा तीन मिनेट मौन धारण गरेका छन्। बुधबार कैयौँ टावर ब्लकहरूमा लागेको आगोमा परी कम्तीमा १२८ जनाको मृत्यु भएको छ। सयौँ मानिस अझै पनि बेपत्ता छन्। ब्लकहरूमा चलिरहेको मर्मत सम्भारको काममा भ्रष्टाचारको शङ्कामा आठ जनालाई गिरफ्तार गरिएको छ। यसअघि अन्य तीन जनालाई हत्याको आरोपमा हिरासतमा लिइएको थियो।
शनिबार बिहान सहरका नेताहरू र अधिकारीहरूले शोक सभामा भाग लिए। यस दुर्घटनाका मृतकहरूलाई श्रद्धाञ्जली दिन सहरमा धेरै ठाउँमा मेमोरियल प्वाइन्टहरू (श्रद्धाञ्जली स्थलहरू) बनाइएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij