अबुजा (नाइजेरिया) : नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले गत हप्तादेखि देशको मध्य क्षेत्रमा अपहरणमा परेका कम्तीमा ८९ जनाको सफल उद्धार भएको पुष्टि गर्नुभएको छ।
राष्ट्रपति टिनुबुले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत विज्ञप्ति जारी गर्दै उद्धार भएकामध्ये क्वारा राज्यको एरुकुको चर्चमा प्राथनाका क्रममा अपहरण गरिएका ३८ जना उपासक र नाइजर राज्यको सेन्ट मेरी स्कुलमा शुक्रबार गरिएको आक्रमणमा बन्धक बनाइएकामध्ये ५१ जना विद्यार्थी रहेको जानकारी दिनुभयो।
अगवारा स्थानीय सरकारी क्षेत्रअन्तर्गत सेन्ट मेरी स्कुलमा आक्रमण गर्ने आतङ्ककारीले करिब ३१५ विद्यार्थी र शिक्षकलाई बन्धक बनाएपछि सुरक्षा निकायले व्यापक खोज तथा उद्धार अभियान थालेको थियो।
राष्ट्रपति टिनुबुले बढ्दो सुरक्षा चुनौतीका कारण दक्षिण अफ्रिकाको जोहानेसबर्गमा आयोजना भएको जी–२० शिखर सम्मेलनको आफ्नो निर्धारित भ्रमण समेत रद्द गर्नुपरेको उल्लेख गर्नुभयो।
उहाँका अनुसार पीडितहरूको उद्धार सुरक्षा एजेन्सीहरूको समन्वित अपरेसनको सफल परिणाम हो। “हरेक नाइजेरियाली नागरिक सुरक्षित हुनु पर्छ। राज्यले सुरक्षा दिने दायित्व पूरा गर्छ,” टिनुबुले उल्लेख गर्नुभयो।
राष्ट्रपतिले प्रहरी तथा सरकारी अधिकारीलाई जनताको रक्षा पहिलो प्राथमिकता बनाउन निर्देशन दिँदै देशभरका समुदायमा सुरक्षा व्यवस्थालाई थप कडा बनाउने आदेश दिनुभएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij