काठमाडौँ : अफ्रिकामा पहिलोपटक आयोजना भएको जी–२० शिखर सम्मेलन शनिबारदेखि दक्षिण अफ्रिकामा सुरु भएको छ। सम्मेलनको उद्देश्य विश्वका गरिब देशसँग सम्बन्धित पुराना र जटिल आर्थिक तथा सामाजिक मुद्दामा ठोस प्रगति हासिल गर्नु हो।
विश्वका धनी र विकासशील देशका उच्चपदस्थ प्रतिनिधिहरू सहभागी सम्मेलनमा जलवायु परिवर्तन, विदेशी ऋणको बोझ कम गर्ने, हरित ऊर्जाको विकास र खनिज सम्पदाको उचित उपयोगजस्ता विषय प्राथमिकतामा रहेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यस सम्मेलनले विकासशील देशको पक्षमा सार्थक सुधार ल्याउन सक्ने उल्लेख गर्नुभयो।
तर, अमेरिका सम्मेलनमा सहभागी भएन। राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकाको गोराविरोधी नीति र अल्पसंख्यक दमनको आरोप लगाउँदै बहिष्कार गर्नु भएको हो। यसले अमेरिका र दक्षिण अफ्रिकाबीच कूटनीतिक मतभेद अझ गहिरो बनाएको छ। फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोनले भने, “अमेरिकाको बहिष्कारले सम्मेलन रोक्दैन, हामी सबै चुनौतीको सामना गर्दै काम गर्नुपर्छ।”
जी–२० समूहमा १९ देश, युरोपेली संघ र अफ्रिकी संघ गरी २१ सदस्य छन्। सदस्य देशहरूले विश्व अर्थतन्त्रको ८५ प्रतिशत, अन्तर्राष्ट्रिय व्यापारको ७५ प्रतिशत र आधाभन्दा बढी विश्व जनसंख्याको प्रतिनिधित्व गर्छन्।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसाले भने, सम्मेलनमा उपस्थित सबै सदस्यसँग संयुक्त घोषणापत्र जारी गरिने र गरिब देशको भविष्यसँग सम्बन्धित विषयमा केन्द्रित रहनेछ। आगामी सम्मेलनको अध्यक्षता अमेरिका सर्नेछ, तर रामफोसाले कनिष्ठ कूटनीतिज्ञलाई हस्तान्तरण गर्नुलाई अपमानजनक बताएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij