लन्डन : टाइटानिक दुर्घटनामा मृत्यु भएका एक यात्रुको सुनको पकेट घडी झन्डै १८ लाख पाउन्डमा बिक्री भएको छ। इसिडोर स्ट्रसको १८ क्यारेट सुनको जुल्स जर्गेनसेन पकेट घडी लिलामीमा १७ लाख ८० हजार पाउन्डमा बिक्री भएको हो।
स्ट्रस र उनकी श्रीमती इडा १९१२ अप्रिल १२ मा साउथह्याम्प्टनबाट न्यूयोर्कतर्फ यात्रा गर्दै गर्दा टाइटानिक हिमशिलासँग ठोक्किएर डुबेको थियो। जहाजमा करीब १ हजार ५०० जना सवार थिए। दुर्घटनाको केही दिनपछि स्ट्रसको शव अटलान्टिक महासागरमा फेला परेको थियो। उनको सामानमा रहेको उक्त घडी पछि परिवारलाई बुझाइएका सामग्रीमध्ये एक थियो।
शनिबार विल्टशायरको डेभाइजेसस्थित हेनरी एल्ड्रिज एन्ड सन अक्सनियर्समा आयोजित लिलामीमा घडी बिक्री गरिएको हो। स्ट्रस एक अमेरिकी व्यापारी तथा राजनीतिज्ञ थिए र न्यूयोर्कस्थित मेसी डिपार्टमेन्ट स्टोरका सह–मालिक पनि रहेका थिए।
दुर्घटनाको बेलामा इडालाई लाइफबोटमा बस्न आग्रह गरिएको थियो। तर उनले पति सँगै बस्ने निर्णय गर्दै लाइफबोट चढ्न अस्वीकार गरेकी थिइन्। इडा स्ट्रसको शव भने कहिल्यै भेटिएन। इडाले टाइटानिकमा रहँदै जहाजको स्टेशनरीमा लेखेको पत्र पनि लिलामीमा एक लाख पाउन्डमा बिक्री भएको थियो।
टाइटानिकसँग सम्बन्धित सामग्रीहरूको यस लिलामीबाट झन्डै ३ करोड पाउन्ड उठेको आयोजकले जनाएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij