Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

कोदो थन्क्याउन व्यस्त गुल्मीका किसान

कोदो थन्क्याउन व्यस्त गुल्मीका किसान

गुल्मी : यतिबेला ग्रामीण क्षेत्रका किसानहरु खेतबारीमा कोदो थन्क्याउने काममा निकै व्यस्त देखिएका छन्। गुल्मीको ग्रामीण क्षेत्रका किसानहरु कोदो स्यार्न निकै देखिएका हुन् । कोदो स्यार्ने यो समयमा मौसमले निकै साथ दिएको हुँदा गाउँगाउँमा किसानहरुको चहलपहलसंगै निकै व्यस्त देखिएका छन्। यसैक्रममा मदाने गाउँपालिका वडा १ अग्लुङ्गका किसानहरु कोदो काटेर स्यार्नमा निकै व्यस्त देख्न सकिन्छ।

कोदो स्यार्ने यो समयमा मौसमले निकै साथ दिएको हुँदा किसानहरु निकै खुसी समेत देखिएका छन्। गुल्मीको ग्रामीण क्षेत्रको मुख्य खाद्यान्नको रुपमा रहेको कोदो भएको हुँदा यस क्षेत्रका किसानले विगतदेखि कोदो उत्पादन गर्दै आएका छन्। जिल्लाको पश्चिमी ग्रामीण क्षेत्र मदाने गाउँपालिका–१, अग्लुङ्ग ओख्लेदहका किसान धनबहादुर विश्वकर्माले विगतदेखि नै कोदो खेति गर्दै आउनुभएको छ। कोदो स्यार्ने यो समयमा छिमेकी सबै मिलेर काम गर्ने चलन रहेको उहाँले बताउनुभयो। विशेषगरी कोदो, मकै यस क्षेत्रको मुख्य खाद्यान्न रहेतापनि अहिले धेरैजसोले कोदो उत्पादन गर्न छाडेका छन्।

बाहिरबाट चामललगायतका विभिन्न खाद्यान्न सामग्री खरिद गर्ने हुँदा यहाँको रैथाने बाली उत्पादनमा ह्रास आएको उहाँले बताउनुभयो। कोदोसंगै अन्य रैथाने बाली संरक्षणमा सरोकारवासंगै स्वयम् किसानले समेत विशेष ध्यान दिन जरुरी रहेको किसान विश्वकर्माको भनाइ छ। सोही स्थानका अर्का रेम बहादुर विश्वकर्मा पनि कोदो स्यार्न निकै व्यस्त देखिनुभएको छ। कोदो स्यार्नका लागि सबै परिवार मिलेर काम गरेको बताउनुभयो। उहाँले पनि यहाँ विगतदेखि नै कोदो उत्पादन गर्दै आउनुभएको छ। आफूले कोदो, मकै, धान उत्पादन गर्दै आएको सुनाउँदै रेम बहादुरले रैथाने बाली संरक्षण गर्न उत्पादनमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो।

यस जिल्लमा प्रत्येक वर्ष कोदो उत्पादनमा गिरावट आएको छ। कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्क अनुसार कोदो उत्पादनको क्षेत्रफलसँगै उत्पादन र उत्पादकत्व पनि घट्दै गएको हो। विशेषगरी पछिल्लो समय बसाइँसराइ, वैदेशिक रोजगार, जनशक्ति अभावका कारण कोदो उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ। यसवर्ष दुई हजार ८२२ दशमलव पाँच हेक्टर क्षेत्रफलमा तीन हजार ६१२ दशमलव आठ मेट्रिकटन उत्पादन हुने अनुमानित प्रक्षेपण गरिएको छ। यस जिल्लाको इस्मा, मदाने, मालिका, धुर्कोट, कालीगण्डकी र चन्द्रकोट गाउँपालिकालाई कोदोको मुख्य पकेट क्षेत्र मानिएको छ। बीउ उत्पादनका क्रममा जङ्गली जनावर, जङ्गली बाख्रा खरायोलगायतका जनावरले किसानलाई निकै समस्या दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट