Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

निर्वाचन आयोगको स्पष्टना : वेबसाइटमा अनधिकृत पहुँच र डेटा चुहावटको दाबी असत्य

निर्वाचन आयोगको स्पष्टना : वेबसाइटमा अनधिकृत पहुँच र डेटा चुहावटको दाबी असत्य

काठमाडौँ : निर्वाचन आयोगले आफ्नो वेबसाइटमा अनधिकृत व्यक्तिहरूले पहुँच पाई संवेदनशील मतदाता नामावलीसम्बन्धी सूचना फेला पारेको भन्ने दाबीहरु असत्य र भ्रामक भएको स्पष्ट गरेको छ ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ‘वेबसाइट ह्याक भई मतदाता विवरण फेला परेको’ भन्ने दाबी सार्वजनिक भएपछि त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नागरिकका कानुनबमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षामा आयोग प्रतिबद्ध छ । सूचना प्रविधि विज्ञहरूको टोलीले आयोगसम्बद्ध सम्पूर्ण सूचना प्रणालीको निरन्तर अनुगमन, सुरक्षा जोखिम विश्लेषण तथा आवश्यक सुरक्षात्मक उपायहरू लागू गरिरहेको छ ।”

आयोगका अनुसार सामाजिक सञ्जालमा ‘आयोगको प्रणालीबाट लिए’ भनी प्रस्तुत गरिएका पीडीएफ फाइलहरू वास्तवमा विगतमा निर्वाचन प्रयोजनका लागि कानुनअनुसार निर्वाचन कार्यालयहरू र राजनीतिक दलहरूलाई प्रदान गरिएका सामान्य सूचनामात्र हुन् । ती फाइलहरूमा संवेदनशील वा गोप्य विवरण समावेश नगरीकन मात्र उपलब्ध गराइएको आयोगले स्पष्ट पारेको छ ।

आयोगले सबै सरोकारवालालाई अप्रमाणित, भ्रामक र मिथ्या सूचनामा विश्वास नगर्न र आधिकारिक स्रोतबाट मात्र जानकारी लिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij