काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको नवगठित नेपाली कम्युनिष्ट पार्टीको उपलब्ध पूर्व पदाधिकारीहरूको बैठकले मङ्सिर ९ गतेदेखि प्रदेश, जिल्ला र पालिका तहमा एकता सन्देश सभा गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले जानकारी दिए ।
उनले पार्टी एकताको सन्देश प्रवाह गर्नका लागि अपिल प्रकाशित गर्ने पनि निर्णय भएको जानकारी दिए । त्यस्तै एकताको सन्दर्भमा विशेष अन्तर पार्टी निर्देशन जारी गर्दै पार्टीलाई एकढिक्का बनाउने निर्णय भएको उनले बताए ।
अन्तर पार्टी निर्देशन जारी गर्दा एकता सन्देश कार्यक्रमको मोडालिटी समेत उल्लेख गरिने जानकारी दिँदै खनालले एकता सन्देश सभाको ब्यानरमा कार्यक्रम गरिने उल्लेख गरे ।आफूहरूको एकता कसैको विरुद्ध नभई आम जनतालाई जागृत र सङ्गठित गर्दै समाजवादको बाटोको अर्जुनदृष्टिका साथ अघि बढ्ने यात्रा भएको उनले बताए ।
खनालले अशोक राई र उपेन्द्र यादवको पाटीसँग कुराकानी भइरहेको भन्दै केहि अवधिभित्र एकीकृत हुने विश्वास व्यक्त गरे ।उनले आफूहरूले बनाएको पार्टी सबै पुस्ताको पार्टी भएको भएकाले बुढाहरूको पाटी भन्न नमिल्ने धारणा राखे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij