Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

उत्तरी जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

उत्तरी जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

टोकियो : आइतबार साँझ उत्तरी जापानको तटीय क्षेत्रमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पपछि थप परकम्पहरू महसुस गरिएको छ र सुनामीको चेतावनी जारी गरिएको छ।

जापानको समय अनुसार करिब ५ बजे इवाते प्रान्तको तटबाट १० किलोमिटर समुन्द्र सतहमुनि केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो। एजेन्सीले उत्तरी तटीय क्षेत्रमा १ मिटरसम्म (३ फिट) अग्लो सुनामी आउन सक्ने भन्दै चेतावनी जारी गरेको छ।

प्रारम्भिक रिपोर्ट अनुसार तत्काल कुनै चोटपटक वा क्षतिको विवरण आएको छैन। उक्त क्षेत्रमा रहेका दुई आणविक ऊर्जा प्लान्टहरूमा पनि कुनै असामान्य गतिविधि नदेखिएको जनाइएको छ। भूकम्पको एक घण्टासम्म पनि सुनामीको चेतावनी कायमै राखिएको थियो।

सार्वजनिक प्रसारक एनएचकेले सुनामीको खतराका कारण मानिसहरूलाई तटीय क्षेत्रबाट टाढा रहन चेतावनी दिएको छ। एनएचकेका अनुसार इवाते प्रान्तको ओफुनाटो सहर, ओमिनाटो बन्दरगाह, मियाको र कामाईशीमा करिब १० सेन्टिमिटर (४ इन्च) अग्लो सुनामीको लहर मापन गरिएको थियो, जुन पछि कुजीको तटीय क्षेत्रमा २० सेन्टिमिटर (८ इन्च) सम्म पुगेको थियो। भूकम्पपछि आउने सुनामीका लहरहरू केही घण्टासम्म जारी रहने र समयसँगै ठूलो हुनसक्ने चेतावनी जारी गरिएको छ।

यस क्षेत्रमा बुलेट रेल सेवाहरू अस्थायी रूपमा रोकिएका थिए भने भूकम्पका कारण केही स्थानमा विद्युत् कटौती भएको क्योडो न्यूजले जनाएको छ। प्रशान्त क्षेत्रको ‘रिंग अफ फायर’ मा अवस्थित जापान भूकम्पको जोखिममा रहेको देश हो। यही क्षेत्रमा सन् २०११ को मार्चमा घातक भूकम्प र सुनामी गएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट