काठमाडौँ : प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व मंगलबार (आज) स्नान, दान, जप, ध्यान गरी मनाइँदै छ । वैकुण्ठ चतुर्दशीमा नदीमा स्नान गरी जप, ध्यान एवं दान गर्दा पुण्य पाइने विश्वास छ ।
भगवान् विष्णुका नाममध्ये एक नाम वैकुण्ठ पनि एक रहेको पण्डित बालमुकुन्द देवकोटाले बताए । “कुण्ठा नभएको ज्ञान वा स्थान जसको आश्रय छ, त्यसलाई वैकुण्ठ भनिन्छ । यसैगरी जीवनलाई नियन्त्रण गर्ने र ज्ञान दिने रूपमा जसको प्रसिद्धि छ, त्यसलाई पनि ‘वैकुण्ठ’ भनिन्छ । त्यस्तै महाभारतको शान्ति पर्वमा आफ्ना बहुसङ्ख्यक नामको व्यूत्पति भगवान् स्वयंले बताउनुभएको छ”, उनले भने ।
देवताका पनि देवता विष्णु सर्वाधिक रूपले पुजनीय मानिनुहुन्छ । भगवान् विष्णुको गणस्थलबाट पैदा भएकाले गण्डकी नाम रहन गएको पौराणिक मान्यता छ । दामोदर कुण्ड पनि कालीको शिर मानिएको छ । दामोदर पनि भगवान् विष्णुको नामसँग सम्बन्धित छ । काठमाडौँ उपत्यकामा रहेका र बग्ने नदीमध्ये एकको नाम विष्णुमती छ । जसको उत्पत्ति विष्णुपादुकाबाट भएको हो । विष्णुपादुका डाँडाको फेदमा रहेको बुढानीलकण्ठ विष्णु मूर्ति मान्यताका साथै कलात्मकताका दृष्टिले पनि सुप्रसिद्ध छ ।
भगवान् विष्णु पालनकर्ताका रूपमा स्थापित भई सबैलाई पालन गरेर रहने क्रममा जागा भई वैकुण्ठाधिपति भगवान् वैकुण्ठ धाममा जानुभएको थियो । आजैका दिन विष्णु वैकुण्ठधाम जानुभएको पौराणिक मान्यता रहेको पण्डित देवकोटाले बताए । हरिशयनी एकादशीका दिन क्षीर सागरमा सुत्नुभएका भगवान् विष्णुले त्यस अवधिमा कार्यभार भगवान् शिवलाई दिएका थिए । आज त्यो कार्यभार भगवान् शिवले विष्णुलाई दिएर कैलाश जानुहुने विश्वास पनि गरिन्छ । यसैले आजको दिनलाई हरि र हर मिलनको उत्सवका रूपमा मनाइने उनले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij