काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीलाई ३५ दिनभित्र सम्पर्कमा आउन आह्वान गरेको छ। विश्वविद्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै तोकिएको अवधिभित्र सम्पर्क नगर्नेहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको हो।
सूचनामा भनिएको छ, “अध्ययन बिदा उपभोग गरी हाजिरी नभएका, सर्तअनुसार पूरा समय काम नगरेका, सेवाबाट हटाइएका, राजीनामा स्वीकृत गरी बुझबुझारथ नगरेका तथा राजीनामा पेस गरी स्वीकृत नभएका शिक्षक–कर्मचारीले यो सूचना प्रकाशित मितिले ३५ दिनभित्र समितिको कार्यालयमार्फत सम्पर्क गर्न अनुरोध गरिन्छ।”
पछिल्ला वर्षहरूमा त्रिविका विभिन्न निकायमा कार्यरत शिक्षक तथा कर्मचारीले अध्ययन बिदा लिएर विदेश गएका वा अन्यत्र स्थायी रूपमा बसेर विश्वविद्यालय नफर्किने प्रवृत्ति बढेको छ। यसले अध्ययन बिदाका सर्त उल्लङ्घन गर्नुका साथै विश्वविद्यालयलाई ठूलो आर्थिक नोक्सान पु¥याएको बताइएको छ।
यसअघि गठन गरिएको अध्ययन बिदा अनुगमन समितिको प्रतिवेदन अनुसार, अध्ययन बिदा लिएर नफर्किने शिक्षक–कर्मचारीका कारण त्रिविलाई करिब दुई अर्ब रुपैयाँभन्दा बढी क्षति पुगेको निष्कर्ष निकालिएको थियो।
नफर्किएका शिक्षक–कर्मचारीलाई सम्पर्कमा ल्याउन र उनीहरूले फिर्ता गर्नुपर्ने रकम असुल गर्न रजिस्ट्रार कार्यालयमा हेल्प डेस्क समेत सञ्चालनमा ल्याइएको छ।
त्रिविले तोकिएको समयसीमा भित्र सम्पर्कमा नआएमा सम्बन्धित शिक्षक तथा कर्मचारीविरुद्ध कानुनी कारबाही अघि बढाउने चेतावनी पनि दिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij