भोजपुर : यहाँका किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन्। टेम्केमैयुङ गाउँपालिका- ३ का सरमान गिरीले हाल ८० रोपनी क्षेत्रफलमा चिया खेती विस्तार गरेका छन्।विगतमा हातैले प्रशोधन गर्दै आएका उनले २०७६ बाट गरस चिया उद्योग सञ्चालनमा ल्याएका हुन्। जिल्लामा चियाको क्षेत्रमा यो पहिलो उद्योग हो। अर्ग्यानिक चिया उत्पादन गर्ने लक्ष्यले व्यावसायिक खेतीमा जुटेको उनको भनाइ छ।
उद्योगबाट हरियो चिया (ग्रीन टी), कालो चिया र सिल्भर चिया उत्पादन गदै आएको उनले बताए। उद्योगले नेपाल चिया तथा कफी विकास बोर्डबाट ट्रेडमार्क प्रमाणपत्र पनि प्राप्त गरिसकेको छ।
व्यवसायी गिरीले उद्योग सञ्चालनका लागि कोशी प्रदेश सरकारबाट १७ लाख ५० हजार अनुदान प्राप्त गरेका छन्। उत्पादित चियाले उचित मूल्य प्राप्त गरेमा वार्षिक २५ देखि ३० लाख रुपैयाँसम्म आम्दानी लिन समस्या नरहेको उनको भनाइ छ।
हाल ८० रोपनीमा फैलिएको खेतीलाई अझ विस्तार गर्ने उनकाे तयारी छ। साथै, चिया बगान अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरी गिरीले बगान परिसरभित्र ‘टेम्के फन पार्क तथा रिसोर्ट’समेत सञ्चालन गरेका छन्।
उनले नर्सरी उत्पादनदेखि रोपण र प्रशोधनसम्मका सबै चरण आफैँ गर्दै आएका छन्। चिया खेती विस्तार गर्न इच्छुक अन्य किसानलाई उनले नियमित सल्लाह र प्राविधिक मार्गदर्शन दिँदै आएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij