Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

हरिबोधिनी एकादशी, आज तुलसीको विवाह गर्ने दिन

हरिबोधिनी एकादशी, आज तुलसीको विवाह गर्ने दिन

काठमाडौं : कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी। सानातन धर्मावलम्बी शनिबार तुलसीको विवाह गरी मनाउँदै छन्। सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँग विवाह गरिदिने परम्परा छ।

एकादशीका दिन उपवास बसी नारायणको आराधना गरी  र भोलिपल्ट द्वादशीमा हवन गरी विसर्जन गरिन्छ।आषाढ शुक्ल एकादशीको दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु यो दिन उठ्ने पौराणिक मान्यता छ। त्यसैले यो दिनलाई हरिबोधिनी एकादशी भनिएको पुराणमा उल्लेख छ।

विष्णुको अर्को नाम हरि हो। शयन अर्थात् सुत्ने कार्य। बोधको अर्थ हुन्छ उठ्ने। यसैले यी दुई एकादशीको महत्त्व विशेष छ। यी दुई एकादशीलाई ‘ठूली एकादशी’ पनि भनिन्छ।अन्य एकादशीमा भन्दा यो दिन गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने भविष्योत्तर पुराणमा उल्लेख छ। भगवान् कृष्णले युधिष्ठिरलाई यो दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने बताएको उल्लेख छ।

पञ्चांगहरूमा शनिबार ५१ घडी ४१ पला अर्थात् राति २ बजेर ५६ मिनेटसम्म एकादशी रहेको उल्लेख छ।कार्तिक शुक्ल एकादशीकै दिन भीष्म पञ्चक आरम्भ हुन्छ। एकादशीदेखि पूर्णिमासम्म भगवान् विष्णुको विशेष आराधना गर्ने परम्परा छ। यो अवधिमा नारायण मन्दिरमा श्रद्धालुको घुइँचो लाग्छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij