धनकुटा : अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डको भेडेटारमुनि कोल्बोटे क्षेत्रमा सडक भासिएर पहिरो गएको छ।पहिरोले सडक भाँसिदा सुमो, माइक्रो जस्ता साना सवारीसाधन एकतर्फी रूपमा सञ्चालन गरिएको छ। ठूला र मालवाहक गाडी आवतजावत पूर्ण बन्द गरिएको छ। पहिरो खसिरहेकाले यात्रुहरूलाई अत्यावश्यक नभए उक्त सडकखण्ड प्रयोग नगर्न आग्रह गरिएको प्रहरीले जनाएको छ। सडक दुवैतर्फ सञ्चालनका लागि सडक बनाउने काम सुरु गर्ने तयारी गरिए पनि वर्षाका कारण समस्या भएको छ।
यसैगरी अविरल वर्षाको कारण धनकुटा–पाँचथर जोड्ने तमोर–करिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। पाँचथरको तुम्वेवा गाउँपालिका–२ र धनकुटाको चौबीसे गाउँपालिका–४ सिमानाबाट बग्ने नावाखोलामा पानीको बहाव बढेर बाढी आएपछि तमोर–करिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो। बाढीका कारण सडकको केही भाग बगाएर सडक सम्पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
पाँचथरतर्फ र धनकुटातर्फ सडकमा सवारीसाधन रोकेर राखिएको छ। सडक पुनः सञ्चालनका लागि डोजर परिचालन गर्न वर्षाका कारण आएको बाढीले समस्या भइरहेको प्रहरीले जनाएको छ। नावा खोलामा पक्की पुल नहुँदा वर्षा हुनेबित्तिकै खोलामा पानीको बहाव बढ्ने हुँदा बाढी आएर सडक अवरुद्ध हुने गरेको छ। नावा खोलामा पक्की पुल निर्माणfधीन रहेको छ।
भेडेटार–रवि–राँके सडकखण्ड अन्तर्गत भेडेटार डाँडाबजार खण्डको थुम्की र लुफाजुङ क्षेत्रमा पहिरो खसेपछि सडक आवागमन अवरुद्ध भएको छ। सडकमा पहिरो खस्दा दुवै तर्फका सवारीसाधन रोकिएका छन्। अविरल वर्षाले पहिरो पन्छाउने काम हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij