धनकुटा : जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लावासीलाई बिहीबारदेखि शनिबारसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यस अवधिमा धनकुटासहित देशका धेरै स्थानमा भारी वर्षा तथा उच्च पहाडमा हिमपातको सम्भावना रहेको हुँदा सम्भावित प्राकृतिक विपदबाट जोगिन प्रशासनले सचेत रहन आग्रह गरेको हो।
प्रशासनले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, पहिरो वा डुबान जोखिम क्षेत्रका बासिन्दाले सुरक्षित स्थानको पहिचान राख्न तथा आवश्यक परेमा तत्काल सर्ने तयारी गर्न अनुरोध गरेको छ।त्यसैगरी सडक अवरुद्ध हुने अवस्था आउन सक्ने भएकाले तत्काल प्रयोग गर्न मिल्ने गरी डोजर, लोडर लगायतका उपकरण तयारी अवस्थामा राख्न र साझेदार निकाय तथा संस्थालाई विपद् व्यवस्थापन समितिको सम्पर्कमा रहन आग्रह गरिएको प्रशासकीय अधिकृत रामजी पौडेलले जानकारी दिए।
यस्तै धनकुटाको पाख्रीबास नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय कात्तिक १४ गतेदेखि १८ गतेसम्म बन्द हुने भएका छन्। जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार बंगालको खाडीमा विकसित मोन्था चक्रवातसँगै पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर केही दिनसम्म भारी वर्षाको सम्भावना औंल्याएको छ। सोही कारण सम्भावित जोखिमलाई मद्देनजर गर्दै विद्यालय बन्द गर्नुपरेको नगर प्रमुख ज्ञानबहादुर गुरुङले जानकारी दिए।नगरपालिकाले अभिभावक र विद्यार्थीलाई सावधानी अपनाउन र जोखिमपूर्ण स्थानमा नजान आग्रह गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij