Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

प्रधानमन्त्री कार्कीसँग जर्मनीका राजदूतको भेटवार्ता

प्रधानमन्त्री कार्कीसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ  :  प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले शिष्टाचार भेटवार्ता गरेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार भएको उक्त भेटमा नेपाल र जर्मनीबिच द्विपक्षीय हित तथा मित्रताका विषयमा विचार आदान–प्रदान भएको थियो । प्रधानमन्त्रीमा कार्की नियुक्त भएपछि उनीहरूबिचको यो पहिलो भेट हो ।यस क्रममा जर्मनीका राजदूत भोल्जले प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै सदा झैँ नेपालको प्राथमिकताअनुसार आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिए ।

प्रधानमन्त्री कार्कीले नेपालको राहदानी छपाइको जिम्मा पाएको जर्मन कम्पनीसँग सम्झौतामा भएको मिति अगावैदेखि राहदानी छपाइका लागि आवश्यक पहल गरिदिन आग्रह गरिन् ।

उनले नेपाली नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्ने यस कार्यमा जर्मन पक्षबाट सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गरिन् ।जवाफमा राजदूत भोल्जले आफ्नो तर्फबाट कम्पनीलाई अनुरोध गरी यस विषयमा सक्दो पहल गर्ने बताए ।

भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत कूटनीतिक अधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij