Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

सोह्रौँ शताब्दीमा बनेको राजकुलो जहाँ मुहान र पुच्छारमा बराबर पानीको वितरण हुन्छ

सोह्रौँ शताब्दीमा बनेको राजकुलो जहाँ मुहान र पुच्छारमा बराबर पानीको वितरण हुन्छ

पाल्पा : पाल्पाको अर्गलीमा अहिले पनि कुलोको पानी वितरणमा समानुपातिक प्रणालीको अवधारणा मार्फत राजकुलोको पानी वितरण हुँदै आएको छ । नेपालको सबै भन्दा पुरानो र वैज्ञानिक तवरले निर्मित यहाँको राजकुलो धेरैका लागि अध्ययन अनुसन्धानको विषय पनि बनेको छ ।

नेपाली पुरातन समाजमा अझै पनि खानेपानी होस या सिँचाई पानी सन्तुलित वितरणका विषयमा सबै भन्दा बढी आपसी झैँ–झगडा र विवाद पानीकै बारे हुने गर्दछन् । तर यहाँ भने पानी वितरण प्रणाली पाँच सय वर्ष अघिदेखि समानुपाती र वैज्ञानिक तवरले वितरण हुँदै आएको छ भन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । यहाँको कुलो राज कुलोको नामबाट समेत परिचित छ ।

पाल्पा सदरमुकाम तानसेनको वडा १४ अर्गली फाँट सिँचाइका लागि सोह्रौँ शताब्दीमा पाल्पाली सेन वंशीय मणि मुकुन्द सेन प्रथमद्वारा निर्मित कुलोको पानी वितरण प्रणाली अहिले पनि वैज्ञानिक रूपमा सञ्चालन हुँदै आएको किसानहरू बताउनहुन्छ ।

खेतीका लागि उर्वर मानिने अर्गली फाँटमा करिब चार सय घर परिवारलाई राजकुलोको कारण बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ । सात किलो मिटरमाथि बाट चट्टाने पहाड फुटालेर चार वटा कुलो निर्माण गरी सिँचाइको व्यवस्थापन सेन वंशीय राजाले गरेका थिए ।

वैज्ञानिक प्रणालीबाट पानी वितरण हुने र समय समयमा मर्मत रेखदेख समेत आलो पालो प्रणालीबाट हुँदै आएको राज कुलो सिँचाइ प्रणाली व्यवस्थापन समितिका सदस्य लक्ष्मण पाण्डे बताउनुहुन्छ । आलो–पालो प्रणालीका कारण सिँचाइको बेला पालो कुरेर बस्न नपर्ने हुँदा समयको बचत हुने र कोही कसैसँग झगडा गर्नु नपर्ने यहाँका किसानको अनुभव छ ।

जिल्लाकै अन्य स्थानमा राजकुलोको पानी लगाउने निहुँमा धेरै पटक भएका झगडा प्रशासनसम्म पुगेर मिलेकाछन् । तर यहाँ त्यस्तो घटना घटेको छैन उल्टै सामाजिक सद्भाव र एकता बलियो बनेको छ ।

सिँचाइको लागि महत्त्वपूर्ण योगदान पु¥याउदै आएको राज कुलो पुरानो भए पनि पानी वितरण प्रणाली आधुनिक र सन्तुलित भएकाले अध्ययन अवलोकन गर्न आउनेहरू यहाँ पुग्ने गर्दछन् ।

कुलोको भरपुर प्रयोगबाट यहाँका किसानहरूले कृषि उत्पादन वृद्धि मात्रै गरेका छैनन् । कुलोलाई थप आधुनिक र कृषकमैत्री बनाउन स्थानीय सरकार र कृषि सम्बद्ध निकायहरूले ध्यान दिन सके यहाँको कृषि पर्यटनमा थप टेवा पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij