Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

अरुण नदीको सतिघाटमा फेरी पुनः सञ्चालन

अरुण नदीको सतिघाटमा फेरी पुनः सञ्चालन

भोजपुर :  उत्तरीबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा छ महिनापछि पुनः सञ्चालनमा आएको छ । वर्षात्का कारण गत जेठदेखि बन्द रहेको फेरी सोमबारदेखि पुनःसञ्चालनमा ल्याइएको हो ।अरुण नदीमा पक्की पुल नहुँदा यहाँका बासिन्दा फेरीकै भरमा सवारीसाधन तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्दै आएका छन् । वर्षात्को समयमा नदीको बहाव तीव्र भएपछि पाँच महिनाअघिबाट फेरी सञ्चालन बन्द गरिएको थियो । फेरी सञ्चालन नहुँदा जिल्लाको उत्तरी क्षेत्रका यात्रु र स्थानीयले आवतजावतमा ठुलो कठिनाइ भोग्दै आएका थिए । फेरी पुनः सञ्चालनसँगै षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका बासिन्दा सहजता भएको छ ।

फेरी बन्द रहेका बेला स्थानीयले झोलुङ्गे पुलमार्फत पिँठ्यूमा बोकेर खाद्यसामग्री तथा आवश्यक वस्तु ओसार्न बाध्य भएका थिए । विसं २०७६ देखि सञ्चालनमा आएको फेरी हालसम्म उत्तरी क्षेत्रका लागि प्रमुख यातायात पार गर्ने माध्यम बनेको छ ।

फेरी बन्द हुँदा झोलुङ्गे पुलबाट आवतजावतसँगै पिँठ्यूमा बोकेर सामान ओसार्नुपर्ने बाध्यात्मक अवस्थामा अहिले सहजता थपिएको स्थानीयवासी दिपेन्द्र श्रेष्ठले बताए ।“पाँच महिनापछि फेरी सञ्चालनमा आउँदा निकै सहज भएको छ”, उनले भने, “फेरी नचल्दा हाम्रो दैनिकी निकै कष्टकर हुन्थ्यो । यहाँ पक्की पुल बने सधैँका लागि समस्या अन्त्य हुने थियो ।”

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij