Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादनमा ह्रास

विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादनमा ह्रास

हेटौँडा : मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ। मत्स्य विकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका अनुसार ताल वरपरका गाउँमा हुने व्यावसायिक तरकारीखेतीमा प्रयोग गरिने रासायनिक विषादी माछाको वृद्धि घट्नुको मुख्य कारण बनेको हो।

करिब सात किलोमिटर लामो र ११ हजार १५६ घनमिटर क्षेत्रफलमा फैलिएको इन्द्रसरोवरमा हाल ४०० वटा केज (पिँजरा) राखेर प्रति घनमिटर ४.५ किलोका दरले माछा उत्पादन भइरहेको इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका उपाध्यक्ष विकास बलामीले जानकारी दिए। पछिल्ला वर्षमा माछाको औसत तौल र सङ्ख्या दुवै घट्दो क्रममा रहेको सङ्घले जनाएको छ।

बलामीका अनुसार तरकारीखेतीमा प्रयोग गरिने कीटनाशक र रासायनिक मल वर्षाको समयमा खोलानाला हुँदै तालमा मिसिन्छ। उनले भने, “यो विषादी मिसिएको पानी तालमा पुग्दा माछाको प्राकृतिक खाना (माछाले खाने सूक्ष्म जीवहरू जसलाई प्लाङ्कटन भनिन्छ) र सूक्ष्म जीवमा असर पुग्छ, जसले गर्दा माछा पहिले जस्तो गतिमा बढ्दैनन्।”

विशेषगरी सिल्भर कार्प, बिगहेड र ग्रास कार्पजस्ता चिसो पानीमा हुर्कने जातका माछा बढी प्रभावित भएका छन्। यी माछा प्राकृतिक रूपमा पाइने हरियो शैवाल र साना जीवजन्तुमा भर पर्छन्। विषादीले ती स्रोतहरू नष्ट गर्दा माछाको तौल र वृद्धि दुवैमा कमी आएको मत्स्य व्यवसायी सङ्घका उपाध्यक्ष बलामीले उल्लेख गरे।

उनका अनुसार सङ्घले हाल ६५० परिवारलाई शेयर सदस्य बनाई माछा उत्पादन, बिक्री र लाभांश बाँडफाँडको व्यवस्था गरेको छ। यसै आम्दानीले विद्यालय सञ्चालनदेखि सामुदायिक पूर्वाधार मर्मतसम्म सहयोग पुग्ने गरेको छ।

माछा व्यवसायी एवं होटल सञ्चालक पूर्ण थापा मगरका अनुसार विषादीको असरले तालको पारिस्थितिक सन्तुलन बिग्रँदै गएको छ। उनले भने, “पहिले दुई किलोसम्म हुर्किने माछा अहिले डेढ किलो पुग्न पनि गाह्रो छ, माछाको प्राकृतिक खाना घटेकाले पनि तिनीहरूको वृद्धि क्षमता घट्दै गएको हो।” उनले आफ्नो होटलमा राखिने परिकारमध्ये कुलेखानी तालको माछा विशेष मान्ने गरिएको बताए।

ताल वरपरका गाउँमा स्थानीय समुदायले माछापालनलाई मुख्य आम्दानीको स्रोत बनाएका छन्। माछा बिक्रीबाट आउने आम्दानीले गाउँको विद्यालय सञ्चालन, सडक मर्मत र सामुदायिक विकासमा ठूलो योगदान पुर्‍याउँदै आएको छ। माछाको आकार घटेपछि कृषकले अहिले आर्थिक घाटा बेहोर्नुपरेको मगरले बताए।

कुलेखानी–कलङ्कीका युवा संसार बलामीका अनुसार, तालमा माछा हाल्ने, हेरचाह गर्ने र बिक्री वितरणको काम इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घले गर्छ। उनले भने, “तालले गाउँका सयौँ घरलाई रोजगारी दिएको छ, तर माछा साना हुन थालेपछि आम्दानी घटेको छ, जसले गाउँको अर्थतन्त्रमा पनि असर पारेको छ।” ताल र माछाको कारण पर्यटन प्रवर्द्धन भएको उनको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij