बाँके : राप्तीसोनारी गाउँपालिका–३ नारायणपुरबाट दाङको राजपुर गाउँपालिका जोड्ने सडकखण्ड निर्माण नहुँदा हुलाकी सडक अधुरो अवस्थामा छ ।नारायणपुर–राजपुर सडक निर्माण गर्न निर्देशनालयले केही वर्षअघि नै डिपिआर तयार गरिसके पनि निर्माण कार्य सुरु हुन सकेको छैन । डिपिआरअनुसार यो खण्ड निर्माण गर्न करिब रु ६ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ । हुलाकी सडक निर्देशनालय, आयोजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले सो खण्डमा सडक निर्माण नगरिए हुलाकी राजमार्ग अधुरै रहने निष्कर्षसहित निर्माण प्रक्रिया अगाडि बढाइएको बताए ।
प्रमुख भण्डारीका अनुसार यो खण्डमा निर्माण कार्य अगाडि बढाउन स्रोत सुनिश्चितका लागि सम्बन्धित निकायमा फाइल पेस गरिसकिएको जनाउँदै केही समयमै स्रोत सुनिश्चित हुने र सोपश्चात् ठेक्का व्यवस्थापनको काम अगाडि बढाइने छ । यो खण्डको करिब ३५ किलोमिटर सडक निर्माणको काम सम्पन्न गर्न करिब चार वर्ष समय लाग्ने र सो सडकखण्डमा १५ पुल निर्माण गर्नुपर्ने देखिएको उनले बताए ।
सडकखण्डको ३५ किमी क्षेत्रमध्ये आधाभन्दा बढी अर्थात् १८ किमी जङ्गल क्षेत्र रहेको छ । छोटो दूरी र सहजताका कारण निर्माण सम्पन्न भइसकेको नेपालगञ्जदेखि अगैयासम्मको स्थानमा सर्वसाधारणका सवारीसाधनले हुलाकी सडक नै प्रयोग गर्ने गरेका प्रमुख भण्डारीले बताए। बाँकेको नारायणपुरबाट दाङको राजपुरसम्मको करिब ३५ किमी खण्डको स्रोत सुनिश्चित प्राप्त गर्ने अन्तिम अवस्थामा पुगेको छ । नारायणपुर–राजपुर सडकखण्ड निर्माण हुन सके बाँकेको सोनारी क्षेत्रको विकासमा टेवा पुग्ने राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार थारुले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij