जनकपुरधाम : मिथिलाको महान् चाड छठ पर्वअन्तर्गत आज शनिबार ‘नहाय खाय’ विधि सम्पन्न गरिएको छ।मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित विभिन्न ठाउँमा व्रतालु महिलाले सूर्यदेवको आराधना गर्दै जलाशयमा नुहाएर चोखो पक्वान्न ग्रहण गरी पवित्र नहाय खाय विधि गरेका सम्पन्न हुन्।
यो विधिअन्तर्गत व्रतालुले नदी, पोखरी वा धारामा स्नान गरी शुद्ध भई अरवा चामल र लौकाको तरकारीको प्रसाद ग्रहण गर्ने परम्परा रहेको व्रतालु क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कि गीतादेवी साहले बताइन्। छठ पर्वको पहिलो दिन नहाय खाय सम्पन्न गरेपछि व्रतालुले सूर्योपासना गर्दै चार दिनसम्मको कठिन व्रत शुरु गर्ने प्रचलन छ।
चारदिवसीय छठअन्तर्गत कठोर व्रतको पहिलो दिन आज नहाय खाय, दोस्रो दिन आइतबार खरना, तेस्रो दिन सोमबार उस्ताउँदो सूर्य र अन्तिम दिन मङ्गलबार उदाउँदो सूर्यलाई अर्घ्य दिने प्रचलन छ। छठ पर्वलाई उत्साहका साथ मनाउनका लागि तयारी अन्तिम चरणमा रहेको स्थानीय पुनम झाले बताइन्।
पोखरी र घाटको सरसफाइ, सजावटलगायत अन्य व्यवस्थापनका काम तीव्र गतिमा भइरहेको उनले जानकारी दिइन्। यसैगरी स्थानीय बजारमा छठका लागि केरा, नरिवललगायत आवश्यक पूजा सामग्री खरिदका लागि निकै भीडभाड बढेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij